युइएफए च्याम्पियन्स लिग

रियालको रोमाञ्चक जित

काठमाडौं । रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबारको खेलमा घरेलु टोली युनियन बर्लिनमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ ।

ओलिम्पया रंगशालामा रियाललाई जित दिलाउन जोसेलुले दुई तथा ड्यानी सिबेलोसले एक गोल गरे । बर्लिनका लागि केभिन भोल्यान्ड र एलेक्स केरलले गोल गरे ।

जितसँगै समूह चरणमा शतप्रतिशत जित निकालेको रियाल ६ खेलमा १८ अंकका साथ समूह ‘सी’ को शीर्ष स्थानमा रह्यो । पराजय ब्यहोरेको बर्लिन समान खेलबाट २ अकंका साथ पुछारमा रहेर बाहिरियो ।

खेलको ४५ औं मिनेटमा लुका मोड्रिच पेनाल्टीमा चुक्दा रियालले अग्रता लिने सुनौलो अवसर गुमायो । पहिलो हाफको इन्जुरी समयमा भोल्यान्डको गोलमार्फत बर्लिनले अग्रता लियो ।

६१ औं मिनेटमा रोड्रिडको पासलाई सदुपयोग गर्दै जोसेलुले रियाललाई बराबरीमा ल्याए । ७२ औं मिनेटमा जोसेलुले व्यक्तिगत दोस्रो गोल गर्दा रियाल २-१ ले अगाडि बढ्यो । उनले फ्रान गार्सियाको पासलाई पोस्टको दिशा दिएका थिए ।

८५ औं मिनेटमा ऐसा लाइडौनीको पासमा गोल गर्दै केरलले बर्लिनलाई २-२ को बराबरीमा ल्याए । चार मिनेटपछि नै जुड बेलिङ्घमको पासलार्य सुदपयोग गर्दै सिबेलोसले रियाललाई ३-२ को रोमाञ्चक जित दिलाए ।

यही समूहको अर्को खेलमा नापोलीले ब्रगामाथि २-० को सहज जित निकालेको छ । यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा बेन्फिकाले आरबी साल्जबर्गलाई ३-१ ले पराजित गर्दा इन्टर मिलान र रियाल सोसिडाड गोलरहित बराबरीमा रोकिए ।