चितवनमा भारतीय प्रशिक्षक

काठमाडौ । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षका रूपमा भारतका मेहराजुद्दीन वाडुलाई अनुबन्ध गरेको छ । चितवनले आइतबार सामाजिक सञ्जालमार्फत वाडुलाई भित्र्याएको जनाकारी दिएको हो ।

वाडु अनुभवी प्रशिक्षक हुन् । उनले भारतका पुने, सुदेवा दिल्ली, रियल कास्मिर र मोहमेदन स्पोर्टिङ क्लबको प्रशिक्षण सम्हाली सकेका छन् । उनले हैदराबाद एफसीको सहायक प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन् ।

सन् २००५ देखि २०११ सम्म भारतका लागि ३२ खेल खेल्दा वाडुले दुई गोल गरे । चितवनले यसअघि खालिद जामिललाई मुख्य प्रशिक्षकको रूपमा अनुबन्ध गरेको थियो । तर क्लबले आफसी समझदारीमा जामिलसँगको सम्झौता रद्द गर्दै वाडुलाई भित्र्याइएको जनाएको छ । 

अघिल्लो संस्करणमा चितवनको प्रशिक्षण मेघराज केसीले सम्हालेका थिए ।  गोलकिपर विशाल श्रेष्ठ मार्की खेलाडी रहेको चितवनले विदेशी कोटामा घानाका टोरिक जेब्रिन र रफिक अमिनोलाई अनुबन्ध गरिसकेको छ ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करणका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।


चितवनको टोली:

विशाल श्रेष्ठ (मार्की), छिरिङ गुरुङ, नवयुग श्रेष्ठ, एकराज बुढाथोकी, अमित श्रेष्ठ, रोशन राना मगर, बुद्ध तामाङ, हेम तामाङ, विक्रम धिमाल, प्रदीप भन्डारी, राजेश परियार, शरनविक्रम सिंह बस्नेत, पुस्कर खड्का, विमल घर्ती मगर (आइकोनिक), टोरिक जेब्रिन, रफिक अमिनो, इभान गोन्जालेज