नेपाली फुटबल

गण्डकीका बैठक बसेको छैन, केन्द्रले प्रतिनिधि पठायो

काठमाडौं । कार्तिक २३ गते मकवानपुरको हेटौडामा हुने विशेष साधारण सभाको लागि प्रतिनिधि पठाउन भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेश फुटबल संघलाई पत्र लेखेको छ ।

एन्फाले सोमबार गण्डकी प्रदेश फुटबललाई पत्र काट्दै प्रतिनिधि छनोटमा समन्वय गर्न अनुरोध गर्दै केन्द्रबाट चार पदाधिकारी पठाएको छ ।

‘विधान २०७७ को धारा (२६) को (घ) को (ई) अनुसार गण्डकी प्रदेश अन्तर्गतका एन्फामा आबद्ध ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लाहरूको मताधिकार प्रतिनिधि रहने व्यवस्था अनुरुप तपसिलको मिति समयमा केन्द्रिय प्रतिनिधिहरुको रोहवरमा मताधिकार प्रतिनिधिको छनोट कार्यक्रमलाई समन्वय गरिदिनुहुन अनुरोध गर्दछु’ एन्फा महासचिव किरण राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

एन्फाले गण्डकी प्रदेशको प्रतिनिधि छनोट गर्न कात्तिक २ को समय दिएको छ । ११ बजे बोलाइएको मतातिकार छनोटमा केन्द्रबाट दुई उपाध्यक्ष, एक सदस्य र एक कर्मचारी रहेका छन् ।

केन्द्रले उपाध्यक्षद्वय दिपक खतिवडा, दावा लामा साथै सदस्य महेन्द्र क्षेत्री र सहमहासचिव समेत रहेका दामोदर भट्टराईलाई प्रतिनिधित्व तोकेको छ ।

गण्डकी फुटबल संघका सल्लाहकार रत्नकुमार श्रेष्ठले प्रदेशको बैठक नै नबसकेको र केन्द्रले अधिकार हनन गरेको खेलाडी डटकमसँग बताएका छन् । ‘प्रदेशको बैठक नै बसेको छैन । अहिले मताधिकार छान्ने केही सल्लाह नै भएको छैन,’ श्रेष्ठले भने, ‘यसरी केन्द्रले प्रदेशको अधिकार हनन गरेर मिति नै तोक्नु त भएन ।’

एन्फा एक उच्च पदाधिकारीले प्रदेशसँग छलफल बिना नै चार चार प्रतिनिधि पठाउनु नै केन्द्रले प्रदेशको अधिकार खोसेको आरोप लगाए ।

एन्फा साधारणसभाका ८६ मध्ये ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईको बर्खास्तगी माग गर्दै एन्फामा निवदेन दिएका थिए । असोज १७ गते बसेको एन्फाको आपतकालिन बैठकले अविश्वासको प्रस्ताव फेस गर्न मकवानपुरमा साधारणसभा बोलाएको हो ।