फिफा विश्वकप छनाेट

रंगशालामै उपस्थित भएर हौसला बढाउन कप्तान किरणको आग्रह

काठमाडौं । नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा नेपाल लाओसविरुद्धको खेल हेर्नका लागि दर्शकलाई रंगशालामा उपस्थित हुन आग्रह गरेका छन् ।

फिफा विश्वकप २०२६ छनाेटको प्रारम्भिक चारण अन्तर्गतको खेलअघि बुधबार किरणले दर्शकलाई रंगशालामै उपस्थित भएर हौसला  बढाउन आग्रह गरेका हुन् ।

‘दशरथ रंगशालामा दर्शकमाझ खेल्न रमाइलो लाग्छ । जहाँ खेले पनि होम क्राउडमा खेल्नुकाे मजा छुट्टै हुन्छ। धेरै दर्शक आउने र समर्थन गर्ने विश्वास छ । भोलि केही फरक हुन्छ भन्ने विश्वास छ । नेपालकै ठूलो झन्डा देख्न पाउँ । सबै जना मिलेर राष्ट्रिय गित गाउँ । ९० मिनेट नै रातो र चन्द सूर्य गित गुन्जियाेस । तपाईँहरु यसरी आइदिनु होस् की रंगशालामै नअटाओस् ।’

यसैगरी किरणले टोलीको तयारी राम्रो भएकाले लाओसको सामना गर्न तयार रहेको बताएका छन् ।

‘तयारी राम्रो छ । यो सबैभन्दा लामो तयारी हो । विश्वकप छनोट खेल्न फरक हुन्छ । त्रिकोणात्मक श्रृंखला जस्तो हुँदैन । टोलीमा केही परिवर्तन भएको छ । घरमा जित्न चाहन्छौं,’ किरणले भने,‘टोली शारीरिक , रणनीति र प्राविधिक रुपमा राम्रो छ। लाओसको टोली पनि राम्रो छ । हामी खेल खेल्न तयार छौ ।’

नेपालले विश्वकप छनोटको प्रारम्भिक चरणअन्तर्गत पहिलो लेगमा बिहीबार लाओसको सामना गर्दैछ । यो खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझा ५ः३० बजे सुरु हुनेछ ।