लियोनेल मेसी

हार्डरकमा अब मेसी किड्स मेन्यु

काठमाडौं । दरबारमार्गको मुटु शेर्पा मलको माथिल्लो तल्लामा छ हार्डरक क्याफे काठमाडौं । अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त बहुराष्ट्रिय चेन रेस्टुराको काठमाडौं शाखामा शनिबार मध्यान्ह सधैभन्दा निक्कै फरक माहोल थियो ।

काठमाडौंमा बसोबास गर्ने विदेशी, उच्च मध्यम बर्ग र संभ्रान्त नेपालीको भिड लाग्ने हार्डरक काठमाडौंमा शनिबार भने तीन दर्जन जति बालबालिका र तिनका अभिभावक जम्मा भएका थिए । अवसर थियो, फुटबलको ।

फुटबलको भन्दा पनि अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीको नाममा जुरेको एउटा परिकार, मेसी किड्स मेन्युको । शनिबारकै दिन पारेर हार्डरक इन्टरनेसनलले काठमाडौंसहित विश्वभर रहेका आफ्ना क्याफे, होटल र क्यासिनोहरुमा लियोनेल मेसीको नाममा बनाइएको परिकार मेसी किड्स मेन्यु सार्वजनिक गरेको थियो ।

मेसी हार्डरकका ग्लोबल ब्राण्ड एम्बेसडर हुन् । बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी)का पूर्व सुपरस्टार मेसी हाल अमेरिकी मेजर लिग सकरको टोली इन्टर मायमी एफसीसँग अनबुन्धित छन् ।

मेसी किड्स मेन्यु (बालबालिकाका लागि तयार गरिएको मेसी एक्स बर्गर) सार्वजनिक गर्ने क्रममा हार्डरक काठमाडौंले बालबालिकालाई निम्त्याएको थियो ।

‘तीन बच्चाको पिता हुनुको नाताले बालबालिकासँग मेरो सधै विशेष खालको सम्बन्ध रहयो,’ मेसीले विश्वव्यापी रुपमा मेसी किड्स मेन्यु सार्वजनिक गर्ने क्रममा सन्देश पठाए, ‘अहिले हामी हार्डरकमा अभिभावकहरुका साथ बालबालिकाका लागि नयाँ परिकारको साथमा उपस्थित भएका छौं ।’

हार्डरक क्याफेले शनिबारबाट विश्वव्यापी रुपमा पस्किन थालेको मेसी किड्स मेन्यु बर्गरको मुल्य हार्डरक काठमाडौंमा ९ सय ९९ रुपैयाँ पर्नेछ । मेसी किड्स मेन्युका ग्राहक बालबालिकाले आगामी केही सातासम्म त्यही मुल्यमा एउटा खेलौना मेसी बल पनि प्राप्त गर्ने हार्डरक काठमाडौंले जनाएको छ ।

हार्डरक क्याफेले यसअघि नै आफ्ना ग्राहकलाई मेसी बर्गर र मेसी चिकन स्यनन्डविच पस्किन थालिसकेको थियो ।