इङ्लिस प्रिमियर लिग

कीर्तिमानी मुल्यमा चेल्सी भित्रिए काइसेडो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले इक्वेडरका मिडफिल्डर मोइसेस काइसेडो लाई कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको छ ।

चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटनबाट काइसेडो अनुबन्ध गर्न १ सय १५ मिलियन पाउन्ड खर्चिएको छ । यो प्रिमियर लिग इतिहासकै सर्वाधिक हो ।

चेल्सीले एक वर्ष दुई पटक प्रिमियर लिग कीर्तिमान तोडेको छ । यसअघि चेल्सीले जनवरीमा पोर्चुगिज क्लब बेन्फिकाबाट अर्जेन्टाइन मिडफिल्ड इन्जो फर्नान्डेजलाई १ सय ६ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

अन्तिम समयमा आएर प्रिमियर लिगकै लिभरपुलले काइसेडो अनुबन्धका लागि लागि १ सय ११ मिलियन पाउन्डको प्रस्ताव अगाडी गरेपछि ट्रान्सफर दौड केही रोमाञ्चक बनेको थियो । तर काइसेडोले नै आफू चेल्सी जान चाहेको बताएपछि लिभरपुल पछि हटेको थियो ।

चेल्सी र काइसेडोबीच आठ वर्षको सम्झौता भएको छ । चेल्सीसँग सम्झौता एक वर्ष लम्बाउने विकल्प पनि रहने छ ।

यसअघि ब्राइटनले  चेल्सीको प्रस्तावलाई दुई पटक अस्विकार गरेको थियो ।

काइसेडो गत सिजन नै ब्राइटन छाड्न चाहन्थे । त्यतीबेला आर्सनलले उनीमाथि इच्छा देखाएको थियो । ब्राइटनको अस्विकारसँगै काइसेडोले सन् २०२७ सम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए ।

काइसेडो सन् २०२१ मा इक्वेडको क्लब इन्डिपेन्डेन्ट डेल भालीबाट ब्राइटन भित्रिएका थिए। उनले २०२२ को आधा समय बेल्जियन क्लब बिययस्कटबाट लोनमा खेलेका थिए ।

उनले सन् २०२२ को अप्रिलमा प्रिमियर लिगमा डेब्यु गरेका थिए । काइसेडोले ब्राइटनबाट ५३ खेल खेल्दै दुई गोल गरेका छन् । काइसेडोले ब्राइटनलाई गत सिजन लिगको छैटौं स्थानमा राख्दै युरोपा लिगामा छनोट गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।