साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपः बंगलादेश १४ वर्षपछि सेमिफाइनलमा

काठमाडौं । भुटामाथि ३-१ को जित निकाल्दै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ ।

बंगलादेश १४ वर्षपछि साफको सेमिफाइनल पुगेको हो । बंगलादेशले पछिल्लो पटक सन् २००९ मा सेमिफाइनल खेलेको थियो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको बंगलादेश समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । तीनै खेलमा पराजय ब्यहोरेको भुटान अंकविहिन हुँदै प्रतियोगितानबाट बाहिरिएको छ ।

यो नतिजसँगै माल्दिभ्स पनि प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट लेबनानले विजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो ।

बेङ्लोरस्थित श्री कान्तिराभा स्टेडियममा बुधबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा भुटान स्तब्ध बन्न पुग्यो ।  

खेलको १२औं मिनेटमा टिसेन्डा दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा शेख मोर्सलिनले बंगलादेशलाई बराबरीमा ल्याए ।

खेलको ३०औं मिनेटमा फिन्त्सु जिग्मेबाट आत्मघाती गोलहुन पुग्दा बंगलादेश २-१ ले अघि बढ्यो । ६ मिनेटपछि राकिब होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाए ।

बंगलादेशले सेमिफाइनलमा समूह ‘ए’ को विजेता कुवेतको सामना गर्नेछ ।