साउदी प्रो लिग

कान्टे अल इत्तिहादमा अनुबन्ध

लन्डन । फ्रान्सका मिडफिल्डर एनगोलो कान्टे साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादमा अनुबन्ध भएका छन । 

३२ वर्षका चेल्सीका कान्टेले स्टाम्फोर्ड ब्रिजमा नयाँ सम्झौता गर्ने तयारी गरेको खबर सार्वजनिक भएको थियो । तर विश्व विजेता कान्टेले चेल्सीसँगको सहकार्यमा पूर्णविराम लगाउँदै अल इत्तिहाद रोजेका हुन । कान्टे तीन वर्षका लागि अल इत्तिहादमा अनुबन्ध भएका हुन ।

अल इत्तिहादले यसअघि स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बन्जेमालाई अनुबन्ध गरेको थियो । 

सन् २०१६ मा लेस्टर सिटीबाट चेल्सी भित्रिएका कान्टेले गत सिजन चोटका कारण धेरै खेल खेल्ने अवसर पाएका थिएनन । 

चेल्सीमा अनुबन्ध भएको पहिलो सिजनमै उनी इङ्लिस प्रिमियर लिगको उपाधि जित्न सफल भएका थिए । 

चेल्सीले सन् २०२१ मा म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जित्दा कान्टे टोलीका प्रमुख खेलाडी थिए ।