साफ च्याम्पियनसिप २०२३

एनिस भन्छन्, ‘एकपल्टमा एकै खेलमा केन्द्रित’

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ आजदेखि सुरु हुँदैछ, भारतको सिलिकन भ्याली सहर बेंगलुरुमा । उद्घाटन खेल नेपालकै रहेको छ, त्यो पनि बलियो इतिहास भएको कुवेतविरुद्ध । यसपल्ट प्रतियोगितामा दुई आमन्त्रित टिम छन् र त्यसमा एक रहेको छ, समृद्ध इतिहास भएको कुवेत ।

भलै, सन् १९८२ मा विश्वकप खेलेको कुवेत अहिले त्यस्तो टिम रहेन् । त्यही वर्ष सन् १९८२ मा नेपालले आफ्नो पहिलो आधिकारिक खेलमा कुवेतकै सामना गरेको थियो । त्यसको चार दशक भन्दा बढी समयपछि नेपालले फेरि एकपल्ट त्यही कुवेतको सामना गर्दैछ । कस्तो हुन्छ त कुवेतविरुद्ध नेपालको प्रदर्शन ?

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँग पनि यसको उत्तर छैन्, प्रायः घुमाएर उत्तर दिने बानी पनि छ । उनी खालि यति भन्छन्, ‘म अहिले कुवेतविरुद्धको खेलमा केन्द्रित छुं । म एकपल्टमा एकै खेलमा मात्र केन्द्रित हुन्छ ।’ प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । यस समूहका अन्य टिममा आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तान रहेको छ ।

एनिसले थप्छन्, ‘मैले आफ्नो प्रशिक्षक खेल जीवनमा पाँच उपाधि जितेको छुं । तर यसबारे अहिलेसम्म केही पनि हल्ला गरेको छैन् । म काममा मात्र केन्द्रित हुन चाहन्छुं ।’ उनले नेपाल आएयता थ्री नेसन्सकप जितिसकेका छन् । उनी नेपाली टिमसँग आवद्ध हुन भएको गर्व गर्छन् र यसलाई आफ्नो व्यक्तिगत उपलब्धी पनि मान्छन् ।

अहिलेसम्म नेपाल र कुवेतबीच नौ खेल भएकोमा छन् । त्यसमा नेपाल अहिलेसम्म जितहीन छ । यसमध्ये सबैभन्दा ठूलो उपलबधी भन्नु नै दुई खेल बराबरीमा टुंगिनु हो । कुवेती टिमका प्रशिक्षक रुइ बेन्टो पनि साफ च्याम्पियनसिप खेल्न पाएकोमा खुसी छन् । पोर्चुगाली प्रशिक्षकले भनेका छन्, ‘साफ च्याम्पियनसिप खेल्न पाएकोमा हामी खुसी छौं र धन्यवाद छ । विश्वास छ, प्रतियोगिता हाम्रा उपलब्धीमुलक हुनेछ ।’

खेल नेपाली समय अनुसार ३ः४५ मा सुरु हुनेछ ।