सहिद स्मारक ‘ए’ डिजिभन लिग

जित्नै पर्ने दबाबमा थ्री स्टार

काठमाडौं । सहिद स्मारक ‘ए’ डिजिभन लिग २०७९ / ८० को अन्तिम खेलमा शनिबार जावलाखेल युथ क्लबको सामना गर्दा थ्री स्टार क्लब जित्नै पर्ने दबाबमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने खेलमा थ्री स्टारले हार वा बराबरीको नतिजा निकाले शीर्ष डिभिजनको हैसियत गुमाउनेछ ।

थ्री स्टार रोकिए विभागीय टोली नेपाल एपिएफ क्लबको शीर्ष डिभिजन हैसियत जोगिनेछ । एफसी खुमलटार ‘बी’ डिभिजनमा घटुवा भइसकेको छ ।

थ्री स्टार २५ खेलमा २९ अंकका साथ १३औं स्थानमा छ ।

थ्री स्टारले पछिल्लो पटक ११औं चरणमा संकटालाई ३-० ले पराजित गरेको थियो । त्यसयताका १३ खेलमा थ्री स्टारले आठ बराबरी र ६ हारको नतिजा निकालेको छ।

जावलमखेल युथ क्लब पनि जितका साथ सिजनको अन्त्य गर्न चाहन्छ । जावलाखेल ३७ अंकका साथ चौथौ स्थानमा छ ।

दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुने  खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने सामाने हुनेछन् ।

लिगको उपविजेता मछिन्द्र जित निकाल्दै सिजनको सुखद अन्त्य चाहन्छ । मछिन्द्र २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा छ ।

मनाङ पनि जितका साथ लिगको अन्त्य गर्ने सोचमा छ । मनाङ २५ खेलमा ३२ अंक जोडेर आठौं स्थानमा छ ।

दिउँसो २ बजे नै च्यासल मैदानमा हुने खेलामा न्यूरोड टिम (एनअनरटी) र संकटा भिड्दै छन् ।

दुवै टोली जिका साथ लिगको अन्त्य गर्ने लक्ष्यमा छन् । एनआरटी २५ खेलमा ३३ अंक जोडेर सातौं तथा संकटा २५ खेलमा ३१ अंकका साथ नवौं  स्थानमा छन् ।