सहिद स्मारक ए डिभिजन लिग

चर्च ब्वाइजलाई अग्रता बढाउने अवसर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज हिमालयन शेर्पा क्लबको सामना गर्दा चर्च ब्वाइज युनाइटेडमाथि शीर्ष स्थानको अग्रता फराकिलो पार्ने अवसर हुनेछ । 

शीर्ष स्थानको चर्च ब्वाइजको १९ खेलमा ३६ अंक छ । जुन दोस्रो स्थानको साबिकको विजेता मच्छिन्द्र फुटबल क्लब र तेस्रो स्थानको जावलाखेल युथ क्लबभन्दा क्रमशः२ र ३ अंक बढी हो । चर्च ब्वाइजले यी दुई टोलीको तुलनामा एक खेल कम खेलेको छ । 

हिमालयन शेर्पामाथिको जितले चर्च ब्वाइजले शीर्ष स्थानमा ५ अंकको अग्रता लिनेछ । आइतबार सम्पन्न खेलमा मच्छिन्द्रले एनआरटीलाई हराउँदै शीर्ष स्थानको चर्च ब्वाइजसँगको दुरी २ अंकमा झारेको थियो । जावलाखेल भने संकटासँग अंक बाँड्न बाध्य भएको थियो । 

१९ खेलमा २५ अंकसहित सातौं स्थानमा रहेको हिमालयन शेर्पा भने चर्च ब्वाइजको शीषै स्थानमा फराकिलो अग्रता बनाउने लक्ष्यमा बाधक बन्न चाहन्छ । 

यी दुई टोलीबीचको खेल दिउँस ३ बजे च्यासल फुटबल मैदानमा हुनेछ । 

आजै एन्फा मुख्यालय सातदोबाटोमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन ।

छैटौ स्थानको आर्मीको १९ खेलमा २६ अंक छ भने १३औं स्थानको फ्रेन्ड्सको समान खेलमा २१ अंक छ ।