साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने

फाइल तस्बिर

काठमाडौं । भारतमा आयोजना हुने पुरुष साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने भएका छन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार निकालेको तालिका अनुसार उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने भएका हुन्  ।

साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १९ गतेसम्म बेङ्गलुरुमा हुनेछ ।

असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

यसैगरी नेपालले असार ९ मा आयोजक भारत तथा असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ नेपाल साबिक विजेता भारत, कुवेत र पाकिस्तान तथा समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्  ।  

फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाउने छन् ।

यसअघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।

माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।