गोदावरी मेयर कप

चापागाउँ गोदावरी मेयर कपको च्याम्पियन

ललितपुर । वडा न.३ गोदावरी(क) लाई १-० ले  हराउँदै वडा न.११ चापागाउ(क) तेस्रो गोदावरी मेयर कप सेभन ‘ए’ साइड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा रमेश कुँवरको गोल निर्णायक बन्दा चापागाउँ च्याम्पियन बनेकाे हाे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुआती पाँच मिनेटमै रमेशले सुजेन महर्जनको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरे । गोदावरीका  रक्षकको गल्तीको फाइदा उठाएका रमेशले गोलकिपर विवेक सिलवाललाई बिट गरेका थिए ।

गोदावरीले खेलमा फर्किने प्रयास गरेपनि पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन । गोदावरीले लगातार दोस्रो पटक फाइनलमा पराजित भएको हो ।  । गत संस्करणमा पनि गोदावरी वडा न.५ लेलेसँग ३–१ ले पराजित भएको थियो ।

उपाधिसँगै चापागाउँले ट्रफी र एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता गोदावरीले ५० हजार पायो ।

विजेता टोलीलाई प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र विशेष अतिथि, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रतोयोगितामा गोदावरीका रक्षक पासाङ तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । चापागाउँका उपेन्द्र महर्जन र दीपक श्रेष्ठ क्रमशः उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिताको उदीयमान खेलाडी, आयोजक वडा न.१२ थेच्वका सुमन नापित घोषित हुँदा अनुशासित टोली पनि थेच्व नै  चुनियो । त्यस्तै प्रतियोगिता अवधिभर आठ गोल गरेका वडा न.१ गोदामचौरका अरुण लामा सर्वाधिक गोलकर्ता बने । सबैले व्यक्तिगत ट्रफी प्राप्त गरे ।

थेच्वको स्थानीय क्लब, टु स्टार क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा यसपालि कुल १८ टोलीको सहभागिता थियो। नगरपालिका भित्र १४ वडा रहेका छन् । प्रत्येक वडाबाट दुईवटा टोली  सम्म सहभागी हुन पाउने प्रावधान रहेकोमा आयोजकसँगै विशंखुनारायन, गोदावरी, चापागाउँ र गोदामचौरबाट दुई टोलीको सहभागिता रह्यो । बाँकी वडाहरु बडिखेल, लेले, टिकाभैरव, डुकुछाप, देविचौर, प्याङ्गाउँ, झरुवारासी र ठैवबाट समान एक टोली थिए ।

१८  टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो । समूह विजेताले सोझै अन्तिम आठमा स्थान बनाउँदा उत्कृष्ट दुई उपविजेता टोली पनि क्वार्टरफाइनल पुगे ।

गोदावरीले समूह विजेताको हैसियतले नकआउटमा स्थान बनाएको थियो भने चापागाउँ उत्कृष्ट उपविजेता टोलीका रुपमा अगाडि बढेको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजकमा, सहकारी पे, प्लानेट अर्थ सोलुसन तथा मुख्य प्रबन्धकमा गोदावरी नगरपालिका रहेको थियो ।