गोदावरी मेयर कप

गोदावरी मेयर कपः सुद्दत्तोको ह्याट्रिकमा थेच्व(ख)को विजयी सुरुआत

ललितपुर । फरवार्ड सुद्दत्तो महर्जनको उत्कृष्ट प्रदर्शनप्रेरित आयोजक वडा न.१२ थेच्व(ख) ले तेस्रो गोदावरी मेयर कप सेभन ‘ए’ साइड फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

थेच्वस्थित दुरिखेल मैदानमा शुक्रबार सम्पन्न खेलमा थेच्व (ख)ले समूह ‘एफ’ अन्तर्गत वडा न.१ गोदामचौर(क) माथि ४-३ को रोमाञ्चक जित निकाल्यो। जितसँगै थेच्वको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । आइतबार हुने समूहको दोस्रो खेलमा वडा न.७ देविचौरलाई बराबरीमा रोके थेच्व सोझै अन्तिम आठमा प्रवेश गर्नेछ ।

खेलको चौथो मिनेटमै पेनाल्टी बक्स बाहिरबाट सुद्दत्तोले गरेको प्रहार गोलमा परिणत हुँदा थेच्वले अग्रता लियो । त्यसको पन्ध्र मिनेटपछि सुद्दत्तोकै पासमा कप्तान रोहन महर्जनले टोलीको अग्रता दोब्बर बनाए । २३औं मिनेटमा थेच्वले तीन गोलको अग्रता लियो । यसपाली एरिश महर्जनको  क्रसलाई सुद्दत्तोले वान टचमा गोल गरे ।

गोदामचौरका लागि खेलको २८ औं मिनेटमा अरुण लामाको पासमा कप्तान जेनिश थापाले एक गोल फर्काए । त्यसको चार मिनेटपछि  अरुणले खेल ३-२ को स्थितिमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा जेनिशले व्यक्तिगत दोस्रो गोल गर्दै गेदामचौरलाई ३- ३ को बराबरीमा ल्याए ।

दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै सुद्दत्तोले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्दा थेच्वले ४-३ को रोमाञ्चक जित निकाल्यो ।

लेले क्वार्टरफाइनलमा

समूह ‘ए’ अन्तर्गत आयोजक थेच्व (क) लाई २-२ को बराबरीमा रोक्दै साबिक विजेता वडा न.५ लेले क्वार्टरफाइनल प्रवेश गरेको छ ।

बराबरीसँगै लेले ४ अंक सहित समूह विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो । यसअघि लेलेले वडा न.४ बडिखेललाई २-१ ले पराजित गरेको थियो । थेच्व भने उद्घाटन खेलमा बडिखेलसँग १-० ले हारेको थियो ।

शुक्रबार लेले २-० ले पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो । आयोजक थेच्वले सन्तोष महर्जन र निरोज महर्जनको गोलमा २ गोलको अग्रता लिएको थियो ।  बिक्की महर्जनले दोस्रो हाफमा दुई गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

अब लेलेले क्वार्टरफाइनलमा उत्कृष्ट उपविजेता टोली मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा शनिबार समूह ‘बी’ ‘सी’र ‘डी’का समान एक खेल हुनेछन् । पहिलो खेल, बिहान ९ बजे वडा न.११ चापागाउँ(क) र वडा न. २ विशंखुनारायण(क) बीच हुनेछ भने दिउँसो १ बजे दोस्रो खेलमा चापागाउँ(ख) र वडा न.१३ झरुवारासीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दिनको तेस्रो खेलमा वडा न.८ डुकुछाप र वडा न.३ गोदावरी(क) भिड्नेछन् ।

थेच्वको स्थानीय क्लब टु स्टारको आयोजनामा भइरहेको प्रतियोगितामा नगरपालिका भित्र रहेका १४ वडाबाट १८ टोलीको सहभागिता छ ।

प्रत्येक वडाबाट दुईवटा टोलीसम्म सहभागी रहन पाउने प्रावधान रहेकोमा आयोजकसँगै विशंखुनारायण, गोदावरी, चापागाउँ र गोदामचौरबाट २ टोलीको सहभागिता छ । बाकी वडाहरु बडिखेल, लेले, टिकाभैरव, डुकुछाप, देविचौर, प्याङ्गाउँ, झरुवारासी र ठैवबाट समान १ टोली छन् ।

१८ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले २ खेल खेल्नेछन् । समूह विजेताले सोझै अन्तिम आठमा ठाउँ बनाउने छन् । त्यस्तै उत्कृष्ट दुई उपविजेता टोली पनि क्वार्टरफाइनल पुग्नेछन् ।

प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १ लाख र उपविजेताले ट्रफी सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सहकारी पे, प्लानेट अर्थ सोलुसन र मुख्य प्रद्धधकमा गोदावरी नगरपालिका छ ।