म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटीको ‘ट्रेबल’ सपना

काठमाडौं । आर्सनल समर्थकलाई जे डर थियो, आखिरमा त्यही भयो । यो सिजन इङ्लिस प्रिमियर लिगमा आर्सनल लामै समय शीर्षस्थानमा अडिएको छ । अझै पनि आर्सनल त्यही पहिलो स्थानमै छ । तर, आर्सनलको साँच्चै मन हुँदो हो त त्यसमा चैन छैन ।

लिग उपाधिको होड अब आर्सनलको नियन्त्रणमा रहेन । बरू दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी नै बलियो भएको छ । टोली फेरि एकपल्ट लिग उपाधि जित्ने अभियानमा छ । यो सबै स्थिति फेरिएको हो एकै खेलको नतिजाले ।

केही इङ्लिस फुटबल पण्डितले ‘सिटी भर्सेस आर्सनल’ को खेललाई दशकयताकै सर्वाधिक महत्वको खेल भनेका थिए । यसमा सिटी ४-१ ले विजयी भयो । धेरैको मतमा यो खेल एकपक्षीय जस्तै थियो । आर्सनलले सिटीको घरेलु मैदान इत्तिहादमा खासै केही गर्न सकेन । लिगमा फाइनल हुन्न तर यो फाइनलजत्तिकै विशेष खेल थियो । यसमै आर्सनल नराम्रोसँग चुक्यो । सिटीले यो खेलपछि खुलेर भन्न सकेको छ, ‘अब लिग उपाधि हाम्रै हो ।’

एक नजर लिग अंकतालिकामा लगाउने हो भने आर्सनल ७५ अंक लिएर शीर्षस्थानमा छ । आर्सनलभन्दा पछाडि सिटी ७२ अंक बोकेर दोस्रो स्थानमा छ । तर, सबैभन्दा महत्त्वपूर्ण तथ्य के भने सिटीले आर्सनलको तुलनामा दुई खेल कम खेलेको छ । सिटीले यी दुई खेल जित्ने हो भने आर्सनललाई उछिन्ने नै छ । सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले पछिल्लो स्थितिको विश्लेषण गर्दै भनेका छन्, ‘अब हामीले आफ्नो एकाग्रता बिगार्नुहुन्न । किनभने स्थिति हाम्रो पकडमा आइसक्यो ।’

त्यसो त सिटी निकै आरामदायी स्थितिमा पनि छैन । टोलीले मैदानमा खेलेर जित्नु नै छ । भएको के मात्र हो भन्दा सिटीले आफूअनुकूल नतिजा ल्याउन सके प्रिमियर लिग उपाधि टोलीकै हुन्छ ।

सिटीले लिगमा अब खेल्ने प्रतिद्वन्द्वी हुन्, क्रमशः फुलहम, वेस्ट ह्याम, लिड्स, एभर्टन, चेल्सी, ब्राइटन र ब्रेन्टफोर्ड । आर्सनललाई पनि सजिलो त कहाँ छ र ? तुलनात्मक रूपमा आर्सनलका बाँकी पाँच प्रतिद्वन्द्वी अझ कडा छन् । ती हुन् चेल्सी, न्युक्यासल युनाइटेड, ब्राइटन, नटिङ्घम फरेस्ट र उल्भस ।

अप्रिल महिनाको सुरुसम्म पनि आर्सनल ८ अंकले शीर्षस्थानमा मज्जाले रमाइरहेको थियो । तर, त्यसपछि तीन खेलको नतिजाले सबथोक खराब ग¥यो । आर्सनलले लिभरपुल, वेस्ट ह्याम र साउथह्याम्पटनविरुद्ध तीन खेल लगातार बराबरीमा टुंग्याउनुपरेको थियो । त्यसमध्ये लिभरपुल र वेस्ट ह्यामसँगको खेलमा आर्सनल अगाडि रहेर पनि बराबरीमा चित्त बुझाउन बाध्य भयो । साउथह्याम्पटनविरुद्ध भने धन्न हारबाट जोगिएको भन्दा हुन्छ ।

जसरी आर्सनलको मनमा चैन छैन, त्यसरी नै सिटीको मन हुँदो हो त त्यसमा खुसी, रोमाञ्च अनि सनसनी सबै हुँदो हो । आखिरमा सिटीसामु प्रिमियर लिगमात्र होइन, एफए कप र युरोपेली च्याम्पियन्स लिग जित्ने अवसर पनि छ । सिटी एफए कपको फाइनल पुगिसकेको छ । त्यसमा सिटीले सामना गर्नुपर्नेछ म्यानचेस्टर युनाइेटड । एफए कपको इतिहासमै पहिलोपल्ट फाइनल म्यानचेस्टर डर्बी हुँदै छ । यो तथ्य आफैंमा उल्लेखनीय छ ।

युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा सिटीले रियाल मड्रिडको चुनौती सामना गर्नेछ । त्यसको अर्थ हो, सिटीसामु तीन उपाधि जित्ने अवसर छ । त्यसो भनेको ‘ट्रेबल’ को अवसर ।

सिटीले अहिलेसम्म च्याम्पियन्स लिग भने जित्न सकेको छैन । सेमिफाइनलमा रियालले सिटीविरुद्ध पेस गर्ने चुनौती आफैंमा कडा छ । सिटीले रियाललाई पाखा लगाउँदै च्याम्पियन्स लिगको ट्रफी नै चुम्यो भने त्यो ऐतिहासिक हुनेछ । खासमा सिटी यसकै प्रतीक्षामा छ ।