सहिद स्मारक ‘ए’ डिभिजन लिग

थ्री स्टार र मनाङले अंक बाँडे, ९ वर्षपछि थ्री स्टारको जर्सीमा साहुखलको गोल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा थ्री स्टार क्लब र मनाङ मर्स्याङदी क्लबले १-१ को बराबरी खेलेका छन् ।

यस बराबरीसँगै मनाङ साता खेलमा चार जित र तीन बराबरीको नतिजासहित १५ अंक जोडेर शीर्ष स्थानमा कायम छ । थ्री स्टार समान खेलमा तीन जित, दुई बराबरी तथा दुई हारको नतिजासहित ११ अंकका साथ छैटौं स्थानमा यथावत छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ७८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए ।

लाकेन लिम्बुको हेडर पासमा पेनाल्टी बक्सभित्र रहेका सन्तोषले उत्कृष्ट गोल गरेका थिए । ९ वर्षपछि थ्री स्टारका लागि लिग खेलेका सन्तोषले पहिलो खेलमै गोल गरेका हुन् ।

योसँगै थ्री स्टारबाट सन्तोषको गोलको संख्या ७२ पुगेको छ । गत संस्करण च्यासल युथ क्लबबाट तीन खेल खेलेका सन्तोषले घरेलु लिगमा एक सय चार गोल गरिसकेका छन् ।



८४ औं मिनेटमा कोफी टिमोथी कुडोले गोल गर्दै मनाङलाई बराबरीमा ल्याए । उनले विशन गुरुङको लामो पासलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । थ्री स्टारका गोलकिपर मोहमद ताहा चिप्लिंदा कुडोको हेडर गोलमा परिणत भएको थियो । 

दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

१२ औं मिनेटमा थ्री स्टारका सन्तोषको प्रहार मनाङ गोलकिपर तथा कप्तान दीप कार्कीले बचाए । उनलाई मिडफिल्डर दीपेश गुरुङले पेनाल्टी बक्स भित्र पास मिलाइदिएका थिए ।

२६ औं मिनेटमा थ्री स्टारका अशोक खवासको पासमा आदित्य शाक्यले गरेको प्रहार बाहिरिएको थियो ।

इन्जुरी समयमा मनाङका कमल थापाको फ्रिकीक प्रहार थ्री स्टार गोलकिपर मोहोम्मद ताहाले बचाए ।

खेलपछि बोल्दै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले दुई अंक गुमाए पनि कुनै अफसोच नरहेको बताए ।

‘दुवै टिमले राम्रो खेल्यो । दुई अंक गुमाएकोमा अफसोच छैन,’ केसीले भने,‘ गोलकिपर चिप्लिन पुग्दा गोल खान पुग्यौं । खेलमा कहिलेकाँही यस्तो हुन्छ । हामी केही लिएर जाँदै छौं ।’

यसैगरी मनाङका प्रशिक्षक किरण श्रेष्ठले अंक नगुमाउने लक्ष्य पूरा भए पनि खेलाडी शारीरिक रुपमा कमजोर देखिएको बताए ।

‘अंक नगुमाउने लक्ष्य थियो । त्यो सफल भयो । आज खेलाडीहरु शारीरिक रुपमा कमजोर देखिए,’ श्रेष्ठले भने,‘सन्तोष शारीरिक रुपमा रन्दीपभन्दा बलियो देखियो । त्यसकै फाइदा उठाउँदै उसले गोल गर्यो । ’