युरोपा लिग

आर्सनल अन्तिम १६ बाटै बाहिरियो

काठमाडौं । स्पोर्टिङ सिपीसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदै  इङ्लिस क्लब आर्सनल युरोपा लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।

अन्तिम १६  अन्तर्गत बिहीबार राति भएको दोस्रो लेग १-१ तथा समग्रमा ३-३ को बराबरी भएपछि खेलको निर्णय पोनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लियान्द्रो ट्रोसार्डले गोल गर्दा गाब्रियल मार्टिनेली भने चुके ।

पोर्चुगिज क्लब स्पोर्टिङका जेरीमिएह जस्टे, रिकार्डो एस्गियो, गोन्कालो इनासियो, आर्थर गोमेस र नुनो सान्तोसले गोल गरे ।

त्यसअघि घरेलु मैदान इमिरेट्स स्टेडियममा खेलको १९ औं मिनेटमा ग्रानिट जाकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६२ औं मिनेटमा पेड्रो गोल्काल्भ्सले स्पोर्टिङलाई १-१ को बराबरीमा ल्याए ।

इन्जुरी समयमा म्यानुएलले दोहोरो पहेलो कार्ड ब्यहोदै मैदान छाडेपछि स्पोर्टिङ १० खेलाडीमा समेटिएको थियो ।

स्पोर्टिङको मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो ।