सहिद स्मारक ‘ए’ डिभिजन लिग

सहिद स्मारक ‘ए’ डिभिजन लिग: चर्च ब्वाइजको लगातार दोस्रो जित, थ्री स्टार र फ्रेन्ड्सले अंक बाँडे

काठमाडौं । नवप्रवेशी क्लब चर्च ब्वाइज  युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको सिजनको दोस्रो खेलमा चर्च ब्वाइजले यसै सिजन पहिलो श्रेणीमा उक्लिएको अर्को क्लब एएफसी खुमलटारलाई ३-१ ले पराजित गरेको हो  ।

खेलको ११ औं मिनेटमै चर्च ब्वाइज अग्रता लियो । पदम भट्टराईले गोलकिपरलाई बल ब्याक दिने क्रममा गल्ती गर्न पुगेपछि चर्च ब्वाइजका फरवार्ड आशिष चापागाईंले मौकाको फाइदा उठाएका थिए । त्यसको सात मिनेटपछि नै मिडफिल्डर एरिक विष्टले चर्च ब्वाइजका लागि दोस्रो गोल गरे ।

दोस्रो हाफ सकिन पाँच मिनेट बाकी छँदा खुमलटारका लागि पहिलो खेलका गोलकर्ता मेसोके ओलामाउले खेल २-१ को स्थितीमा ल्याए । तर दोस्रो हाफको ७१ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरे ।

जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले दुई खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा चर्च ब्वाइजले  विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गरेको थियो ।

सिजनको उद्घाटन खेलमा फ्रेन्ड्सलाई १-० ले पराजित गरेको खुमलटारको भने दुई खेलमा तीन अंक छ ।

त्यस्तै आजै भएको अर्को खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले ३-३ को बराबरी खेलेका छन् । च्यासलस्थित च्यासल मैदानमा भएको खेलमा थ्री स्टारका लागि मार्टिन कायोडे अजाइ, योगेश गुरुङ र प्रदीप लम्सालले गोल गर्दा फ्रेन्ड्सका लागि कुशल फुयालले दुई र अख्रोरबेक उक्तामोभले एक गोल गरे ।

बराबरीसँगै दुवै टोलीले लिगमा पहिलो अंक जोडेका छन् । पहिलो खेलमा थ्री स्टार विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग २-० ले पराजित भएको थियो ।