नेपाली फुटबल

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक एनासी !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बेर्टो एनासीलाई नियुक्त गर्ने तयारी गरेको छ । 

विवादित छबी बनाएका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिएपछि नै एन्फा मुख्य प्रशिक्षकको खोजीमा थियो । नेपालले घरेलु मैदानमा बंगलादेश र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदिप हुमागाई र सहिद स्मारक ए डिभिजन लिगको साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई प्रशिक्षणको जिम्मेवारी दिएको थियो । दुवै खेलमा नेपालले सुखद नतिजा ल्याएको थियो ।

एन्फाले आवेदन दिएर सर्टलिस्टमा परेका प्रशिक्षकलाई अन्तरवार्ताका लागि भौतिक रुपमै उपस्थिती हुनु पर्ने सर्त राखेको थियो । एन्फा स्रोतका अनुसार मुख्य प्रशिक्षकका लागि उनी मात्र अन्तरवार्ताका लागि उपस्थित भएकाले उनलाई नियुक्त गर्ने तयारी गरिएको हो । आज बसिरहेको एन्फा कार्यसमिती बैठकले मुख्य प्रशिक्षकमा उनको नाम अनुमोदन गर्ने बताइएको छ ।

हाल उनी इन्डियन आइ लिगको क्लब नर्थइस्ट युनाइटेडका मु्ख्य प्रशिक्षकको रुपमा रहेका छन । उनले यसअघि घानाको बेचेम एफसी, प्यालेस्टाइनको अली अल खालिल,इन्डोनेसियाको पिसिस सिमाराङ र भारतकै गोकुलम केरेला एएफसीमा प्रशिक्षण दिइसकेका छन ।

उनले सन् २०१९ मा बेलिचको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए ।