एन्फा कार्यसमिति बैठक

एन्फा अध्यक्ष नेम्वाङले बलपूर्वक बैठक संचालन गरेको असन्तुष्ट पक्षको आरोप

काठमाडौं । महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत सदस्यले आफ्ना माग समावेश नभएसम्म कार्यसमिती बैठक सुरु हुन नसक्ने अडानकाबीच अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक ६–७ वडा एजेन्डा अगाडी बढाएको आरोप लगाएका छन । 

बिहान आठ बजेबाट सुरु हुने भनिएको बैठक दुई पक्षबीचको विवादका कारण समयमा सुरु हुन सकेको थिएन ।

तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यको मागविपरित अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्गतीसहितका विभिन्न पाँच एजेन्डा नथप्ने निर्णय गरेका थिए । त्यसले एन्फा विवादलाई थप चर्काएको छ ।

‘अध्यक्षले बहुमत सदस्यका विरोधकाबीच कार्यसमिती बैठक संचालन गर्दै ६–७ वडा एजेन्डालाई अगाडी बढाउनु भएको छ’, असन्तुष्ट पक्षक एक सदस्यदले भने, ‘उहाँको यो कदम हामी सहने पक्षमा छैनौ । बैठकमा अब केही अप्रिय घटना घटेमा त्यसको जिम्मा अध्यक्ष नेम्वाङ स्वयंमले लिनुपर्छ ।’

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढ थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले शुक्रबार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेन्डा थपको माग गरेका थिए ।

उनीहरुले आफ्नो माग समावेश नगरिएसम्म बैठक संचालन हुन नसक्ने अडान राखेका थिए । साथै उनीहरुले बैठक कक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्न समेत माग गरेका थिए । दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा विवाद उत्पन्न भएको हो । उपाध्यक्ष दावा लामा र दीर्घबहादुर केसी तथा अर्को उपाध्यक्ष दिपक खतिवडा र सदस्य पुरुषोत्तम थापाबीच भनाभन र हात हालाहाल भएको थियाे । दुवै पक्ष झगपमा उत्रदा बैठक स्थलमा रहेका सिसा र टेबल फुटेका छन ।

एन्फा सचिवालयले १९ एजेन्डामाथि छलफल गर्ने भन्दा पनि कार्यसमितिभित्रै विवादित बन्दै आएको फिफा विश्वकप टिकटको ‘अवैधानिक विक्री’, खेलाडीका पुरस्कार लगायतका विषय समावेश थिएनन् ।

२१ सदस्यीय कार्यसमितिका तीन उपाध्यक्ष र ९ सदस्यसहित १२ जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तगी माग गरेका थिए । यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नवीन पाँडेलाई विदेश विभाग प्रमूखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए । तर पछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले पाँडेलाई आफ्नो व्यक्तिगत सल्लाहकारमा नियुक्त गर्दै त्यो संकट टारेका थिए ।

यसका साथै गत नोभेम्बर÷डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढि टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरुको एजेन्डा थपको पत्रमा उल्लेख छ ।

यसैगरि एसियाली फुटबल महासंघ (एएफसी)का विभिन्न समितिका लागि नाम सिफारिस गर्ने सम्बन्धमा, उमेर समूह र सिनियर राष्ट्रिय (महिला तथा पुरुष) विजेता टिमका खेलाडीहरुलाई घोषित पुरस्कार वितरण गर्ने सम्बन्धमा तथा गएको असोज १२ गते विशेष साधारणसभाबाट नियुक्त भएका न्यायीका निकायको सदाचार परिक्षण सम्बन्धमा पनि कार्यसमिति बैठकमा छलफल हुनुपर्ने माग राखिएको थियो ।

दुई उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडासहित आठजनाले संयुक्त तथा अर्का उपाध्यक्ष दीर्घबहादुर केसी, सदस्यहरु भोजराज शाही, भरत बुढ थापा र राम जोशीले इमेलबाट व्यक्तिगत पत्र दर्ता गराएका थिए । संयुक्त पत्र दर्ता गराउने सदस्यहरुमा रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, रमेश ब्यन्जनकार, पेमा लामा र सरला श्रेष्ठ थिए ।