इटालियन सिरी ए

युभेन्टसको लगातार चौथो जित

मिलान । पाउल पोग्बाले लामो समयको प्रतिक्षापछि युभेन्टसबाट डेब्यु गरेको खेलमा उनको टोलीले मंगलबार इटालियन सिरी ए मा टोरिनोमाथि ४-२ को पुनरागमन जित निकालेको छ ।

यसै सिजन म्यानचेस्टर युनाइटेडबाट युभेन्टस फर्किएका पोग्बाले चोटका कारण मैदान उत्रन पाएका थिएनन । उनी ६८औं मिनेटमा इन्जो बरोनचेयाको स्थानमा मैदान प्रवेश गरेका थिए । 

खेलको दोस्रो मिनेटमै यान कारामोको गोलमा टोरिनोले अग्रता लिएको थियो ।१६औं मिनेटमा युहान क्वाडार्डोको गोलमा युभेन्टस खेलमा फर्किएको थियो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा एन्टोनियो सनाबरियाको गोलमा पुनः टोरिनोले अग्रता लिएको थियो

तर इन्जुरी समयको पहिला मिनेटमै ड्यानिलोले युभेन्टसलाई पुनः खेलमा फर्काएका थिए । 

७१औं मिनेटमा ब्रेमर र ८१औं मिनेटमा एड्रियन राबियोटको गोलमा युभेन्टसले पुनरागमन जित पक्का गरेको हो । सिरी ए मा युभेन्टसको यो लगातार चौथो जित हो । 

युभेन्टस २४ खेलमा ३५ अंकसहित सातौ स्थानमा छ । जुन चौथो स्थानको लाजियोभन्दा १० अंक कम हो । नवौं स्थानको टोरिनोको भने समान खेलमा ३१ अंक छ ।