ग्रिक सुपर लिग

पाँच महिनामै ओलम्पियाकोसबाट मार्सेलो बाहिरिए

पेरिस । रियला मड्रिड र ब्राजिलका पूर्व खेलाडी मार्सेलोले ग्रिक सुपर लिगको च्याम्पियन ओलम्पियाकोसमा अनुबन्ध भएको पाँच महिनापछि नै त्यहाँको यात्रामा पूर्णविराम लगाएका छन ।

पाँच पटकका च्याम्पियन्स लिग विजेता मार्सेलो गत सेप्टेम्बरमा रियालको यात्रामा पूर्णविराम लगाउँदै ओलम्पियाकोसमा अनुबन्ध भएका थिए । 

उनले ओलिम्पियाकोससँग एक वर्षको सम्झौता गरेका थिए । उनले ओलम्पियाकोसबाट ग्रिक सुपर लिगको पाँच खेल मात्र खेलेका थिए । तर पाँचै खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । 

‘मैले ग्रिसमा केही अविश्मरणिय क्षण बिताए,’मार्सेलोले भने, ‘ओलम्पियाकोसको जर्सी लाउन पाउनु मेरा लागि विशेष क्षण हो ।तर मैले व्यत्तिगत कारण क्लबसँगको यात्रामा पूर्णविराम लगाएको छु । अन्य माध्यमबाट यस क्लबसँग सधै रहिरहने छु । ओलम्पियाकोसको सफलताको कामना गर्छु ।’

रियालबाट मार्सेलोले २५ प्रमुख प्रतियोगिताको उपाधि जितेका थिए । उनले ब्राजिलबाट ५८ खेल खेलेका थिए ।