बार्सिलोनाले बिर्सिएको फुटबल शैली 

मड्रिड, (खेलाडी)- स्पेनिस ला लिगाको महारथी बार्सिलोना मंगलबार घरेलु मैदान क्याम्प नोउमै ग्रानाडासँग १-१ को बराबरीमा रोकिएपछि क्लबले आफ्नो खेल्ने शैली बिर्सिएको भन्ने चर्चा सुरु भएको छ । 

उक्त खेलको ९०औं मिनेटमा रोनाल्ड अरौजोले हेडमार्फत गोल गरेपछि बार्सिलोना मुश्किलले एक अंक जोगाउन सफल भएको थियो । 

मंगलबारको खेलपछि चर्चित स्पेनिस अखवार मार्काले आफ्नो कभर पेजमा ‘योे बार्सिलोना हो ?’ भन्ने प्रश्न गरेको छ । जसमा मार्काले बार्सिलोनाको प्रदर्शन निराशजक भएको भन्दै क्याटालनको यो क्लबले आफ्नो पहिचानका रुपमा स्थापित गरेको ‘खेल्ने शैली त्यागेको’ बताएको छ । 

गत हप्ता भएको च्याम्पियन्स लिगको पहिलो खेलमा पनि बार्सिलोना घरेलु मैदानमै जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएको थियो । जसले बार्सिलोनासँग युरोपका शीर्ष क्लबविरुद्ध प्रतिस्पर्धा गर्न सक्ने क्षमता समाप्त भएको भन्ने प्रश्न पनि उठ्न सुरु भएको छ ।

‘हामीले स्पेस पाएनौं भने टिकी टाका खेल्न सक्दैनौं,’ पूर्व प्रशिक्षक पेप ग्वार्लिओलाको नेतृत्वमा क्बलले विकसित गरेको चर्चित शैलीका बारेमा बोल्दै प्रशिक्षक रोनाल्ड कोम्यानले भने, ‘हामीलाई थाहा छ, सायद यो बार्सिलोनाको खेल होइन, तर यो आठ वर्ष अघिको बार्सिलोना पनि होइन ।’

बार्सिलोना यो सिजन क्लबका ६ मुख्य खेलाडीविना प्रतिस्पर्धा गरिरहेको छ । जसमा युवा तथा प्रभावकारी मिडफिल्डर पेड्री गोन्जालेज पनि छन् । 

त्यस्तै यसै सिजन ‘पहिचानसहितको घर’ छाडेका अर्जेन्टिनी स्टार लियोनल मेसीको बर्हिगमनले पनि बार्सिलोना केही कमजोर बनेको देखिन्छ । 

बार्सिलोनाले यसै सिजन क्लब आर्थिक रुपमा निकै कमजोर रहेकाले मेसीसँगको सम्झौता नवीकरण गर्न नसक्ने बताएपछि अर्जेन्टिनी स्टारलाई फ्रान्सेली लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले अनुबन्ध गरेको थियो । 

बार्सिलोनाको प्रदर्शनबाट समर्थक निक्कै निराश रहेको कुरा सोमबार क्याम्प नोउको उपलब्ध ४० हजारमध्ये २७ हजार टिकटमात्रै विक्री भएको कुराले समेत प्रस्ट्याउछ । 

बार्सिलोना यो अवस्थाबाट माथि उठ्न समर्थकहरुले कोम्यानको ठाउँमा क्लबकै पूर्व ‘मास्टर माइन्ड’ जाभी हर्नान्डेजलाई देख्न चाहेका छन् । 

यद्धपी कतारी क्लब अल सादसँग सन् २०२३ सम्म प्रशिक्षणको भूमिकामा रहने सम्झौता गरेका जाभी आफै भने प्रशिक्षणको सुरुआती अवस्थामा छन् ।