महिला ट्वान्टी २० विश्व कप

वेस्ट इन्डिजले आयरल्यान्डलाई हरायो

काठमाडौं । जाइदा जेम्सको अलराउन्ड प्रदर्शनप्रेरित वेस्ट इन्डिजले आइसिसी महिला यु-१९ टी २० विश्वकपमा विजयी सुरुआत गरेको छ ।

वेस्ट इन्डिजले समूह ‘सी’ अन्तर्गत नर्थ वेस्ट युनिभरसिटीको क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा आयरल्यान्डलाई  नौ रनले पराजित गरेको हो ।

यस जितसँगै वेस्ट इन्डिजले दुई अंक जोड्दा आयरल्यान्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको एक सय २५ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै एक सय १८ रन बनायो ।

आयरल्यान्डका लागि एनाबेल स्क्विरेसले ३८ बलमा चार चौका मद्दतमा सर्वाधिक ४२ रन जोडिन् । यसैगरी कप्तान एमी हन्टरले २१,फ्रिया सर्जेन्टले अविजित १५ र एबी ह्यारीसनले १३ रन बनाए ।

दोस्रो विकेटका लागि एनाबेल र एमीले ५३ रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि जाइदाले चार, जानिलिया ग्लासगो, अस्मिनी मुनिसर र केजाज् मिचेलले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्भारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय २५ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि जाइदाले ५७ बलमा आठ चौका मद्दतमा सर्वाधिक ५२ रन जोडिन् । यसैगरी नैजानी कम्बरब्याचले २१, शुनेल सहले १५ र जानिलिया ग्लासगोले १३ रन बनाए ।

पहिलो विकेटका लागि जाइदा र शुनेलले ६१ रनको साझेदारी गरेका थिए ।

आयरल्यान्डका फ्रिया सर्जेन्टले दुई तथा एमी मग्वायरले एक विकेट लिए ।