क्यानद्वारा दश स्थानीय प्रशिक्षक नियुक्त

काठमाडौं, (खेलाडी)- नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञापन खुलाएर आवेदन माग गरेको एक वर्षपछि शनिबार विभिन्न प्रदेशका स्थानीय प्रशिक्षक नियुक्तीको औपचारिकता पूरा गरेको छ । 

क्यानले शनिबार विज्ञप्ति जारी गर्दै जनाएअनुसार सात प्रदेशमा गरी कुल १० प्रशिक्षक नियुक्त गरिएको छ प्रदेश एकमा पुश्प थापा, प्रदेश दुईमा प्रकाश शर्मा र सुनीलकुमार शाह, बाग्मतीमा संजय महर्जन, गण्डकीमा रिजन प्रजु, लुम्बिनीमा वशन्त शाही र जमिल अन्सारी, कर्णालीमा वीरेन्द्र शाही तथा सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्ट नियुक्त भएको क्यानले जनाएको छ ।

क्यानले १० प्रशिक्षक नियुक्त गरे पनि आवेदन माग गर्दा भने नेपाली क्रिकेटको सर्वोच्च निकायले सातै प्रदेशका लागि एक/एक स्थानीय प्रशिक्षक नियुक्त गर्ने भन्दै विज्ञापन गरेको थियो । 

गत वर्ष भदौ १८ गते विभिन्न सञ्चार माध्यममा विज्ञापन गर्दै क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, महाप्रवन्धक, प्रमूख वित्त अधिकारी, क्रिकेट व्यवस्थापक तथा सातै प्रदेशमा एक/एक स्थानीय प्रशिक्षकका लागि आवेदन माग गरेको थियो ।

स्थानीय प्रशिक्षकका उम्मेदवारहरुका लागि २० दिनभित्र आवेदन दिइसक्न पनि सुचित गरिएको थियो । तर विज्ञापन गरेको एक वर्ष नाँघिसकेपछि क्यानले प्रशिक्षक नियुक्तिको औपचारिकता पूरा गरेको हो । 

जवकि क्यानले गएको भदौ १८ मा नै १० प्रशिक्षक नियुक्तिको निर्णय गरिसकेको थियो । क्यानले सार्वजनिक नगरेको उक्त निर्णय बाहिरिएपछि त्यसको व्यापक विरोध भएको थियो । विरोध भएपछि क्यानले भदौ १८ को निर्णयमा केही हेरफेर गर्दै शनिबार सार्वजनिक गरेको हो ।

क्यानले भदौ १८ मा प्रदेश एकमा पुश्प थापा, प्रदेश दुईमा प्रकाश शर्मा र सुनीलकुमार शाह, बाग्मतीमा संजय महर्जन, गण्डकीमा रिजन प्रजु, लुम्बिनीमा जमिल अहमद अन्सारी र वशन्त शाही तथा सुदूरपश्चिममा वीरेन्द्र शाह, जानकी भट्ट र खेमराज भट्टलाई नियुक्त गर्ने आन्तरिक निर्णय गरेको थियो । तर शनिबार त्यसमध्ये सुदूरपश्चिममा नियुक्त गरिएको भनिएका वीरेन्द्र भट्टलाई कर्णालीको जिम्मेवारी दिएको छ ।