वाई वाई यू १९ राष्ट्रिय प्रतियोगिता

सुदुरपश्चिमको लगातार चौथो जित

काठमाडौं । सुदुरपश्चिम प्रदेशले वाई वाई यू १९ राष्ट्रिय प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

सुदुरपश्चिमले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा प्रदेश एकलाई दुई सय १३ रनले हराएको हो ।  जितका लागि दुई सय ६५ रनको लक्ष्य पछ्याएको प्रदेश एक १६.३ ओभरमा मात्र ५१ रन सीमित भयो ।
प्रदेश एकका लागि भुपाल दंगालले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदुरपश्चिमका लागि हेमन्त धामीले पाँच, आकाश चन्दले तीन र मिलन बोहराले दुई विकेट लिए ।   

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदुरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ६४ रनको योगफल तयार पारेको थियो  ।

सुदुरपश्चिमका लागि कप्तान अनुराग सिंहले एक सय १२ बलमा आठ चौका र एक  छक्कामद्दतमा सर्वाधिक ८३ रनको योगदान दिए । मिलन बोहराले ७६ बलमा आठ चौका र एक छक्कामद्दतमा ६४ रन बनाए ।

तेस्रो विकेटका लागि मिलन र अनुरागले एक सय तीन रनको शतकीय साझेदारी गरेका थिए । त्यसैगरी दीपक बोहराले ३२,गजेन्द्र बोहराले २४,आकाश चन्दले २० र विशाल ऐरले १३ रन जोडे ।

प्रदेश एकका अभिनय राजवंशीले चार तथा आशिष मगर र दीपेश कंडेलले समान दुई विकेट लिए ।

यस जितसँगै सुदुरपश्चिमले चार खेलमा आठ अंक जोडेको छ भने प्रदेश एककोतीन खेलमा दुई अंक छ ।