ओमानसँग बदला लिने अवसर

काठमाडौ, (खेलाडी)_ विश्व क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा मंगलबार घरेलु टोली टोली ओमानको सामना गर्दा नेपाल आफ्नो जितको लयको निरन्तरता चाहन्छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हृने खेल दिउसो ४ः१५ बजेबाट सुरु हुनेछ ।

लिग दुई अन्तर्गत यसअघि सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको पहिलो शृंखलामा नेपालले अमेरिकाविरुद्धको दुवै खेलमा जित निकाल्दा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो ।

 त्यसैले नेपाल ओमानसँग हारको बदला लिदै अंक तालिकामा आफ्नो दरिलो उपस्थिती जनाउन चाहन्छ ।

 लिगका पाँच खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

लिगमा यी तीन टोलीसहित, स्कटल्यान्ड, नामिबिया, युएई र पपुवा न्युगिनी (पिएनजी) गरि सात टोली छन् । 

तालिकाको शिर्ष स्थानमा १० खेलबाट १६ अंक जोडेको ओमान छ । दोस्रो स्थानमा १३ खेलबाट १२ अंक जोडेको अमेरिका छ । 

यसैगरी तेस्रो स्थानमा आठ खेलबाट नौं अंक जोडेको स्कटल्यान्ड, चौथो स्थानमा सात खेलबाट आठ अंक जोडेको नामिबिया र सातौ स्थानमा आठ खेलसम्म अंकविहिन रहेको पिएनजी छ ।

शृंखलाको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले हराएको थियो । ओमान भ्रमणम नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पिएनजी विरुद्ध भएको दुई अभ्यास खेलमा नेपालले आफ्नो पक्षमा पारेको थियो ।

ओपनर कुशल भुर्तेलसँगै मध्यक्रमका युवा ब्याट्सम्यान रोहित पौडेलको प्रदर्शनमा नेपालको नतिजा निर्भर हुन सक्छ । कुशलले अमेरिकाविरुद्ध खेलसँगै एक दिवसीय खेलमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका थिए ।

यता पिएनजीविरुद्धको दोस्रो अभ्यास खेलमा ८६ रन प्रहार गरेका रोहितले अमेरिकााविरुद्ध अविजित ६२ रनको योगदान गरेका थिए ।

त्यस्तै नेपाल स्पिनर सन्दीप लामिछानेको विकेट लयको निरन्तरता चाहन्छ । अभ्यास खेलमा पिएनजीविरुद्ध क्रमश: चार र ६ विकेट लिएका सन्दिपले सोमबार अमेरिकाविरुद्ध पनि दुई विकेट लिएका थिए ।

नेपालले शुक्रबार अमेरिकाविरुद्ध तेस्रो खेल खेलेपछि आइतबार ओमानविरुद्ध अन्तिम खेल खेल्नेछ ।