प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता

आर्मीलाई पुलिसको तीन सय पाँच रनको लक्ष्य

काठमााडौं । कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले तेस्रो विकेटका लागि दुई सय चार रनको साझेदारी गरेसँगै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा साविकको विजेता त्रिभुवन आर्मी क्लबसामु जितका लागि तीन सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङका लागि आएको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय चार रनको योगफल तयार पारेको हो ।
पुलिसका लागि दिपेन्द्रले एक सय २५ बलमा ११ चौका र पाँच छक्कामद्दतमा एक सय ४० रन जोडे । आरिफले एक सय नौ बलमा आठ चौका र दुई छक्का मद्दतमा अविजित ९१ रन जोडे ।

आर्मीका विक्रम सोबले तीन विकेट लिए ।

आर्मी प्रतियोगिताको साबिकको विजेता हो । गत संस्करणमा आर्मीले एपिएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो ।

आर्मी र पुलिसबीचको विजेताले शनिबार हुने फाइनलमा एपिएफको सामना गर्नेछ । 

एपिएफ बिहीबार मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।