कतार विश्वकप २०२२

नेपाली फुटबलकर्मीको चाहना: ‘ब्राजिलले जितोस्, पोर्चुगलले राम्रो गरोस्’

काठमाडौं । दोस्रो पटक एसियामा हुन लागेको कतार विश्वकप नजिकिँदै गर्दा विश्व नै फुटबलमय बन्दै छ । नेपाललाई पनि विश्वकपले घेरिसकेको छ । खेलकुद सामग्रीका पसलमा विभिन्न रंगका विश्वकप खेल्ने देशका जर्सीहरू झुन्ड्याइन थालिसकेका छन् । रेस्टुरेन्ट, होटलहरूमा विश्वकपमा सहभागी देशका झन्डा र ठूला स्क्रिनमा पछिल्ला संस्करणका भिडियो पनि देखिन थालेको छ । समग्रमा विश्वकपको रमझम सुरु भइसकेको छ नेपालमा ।

विभिन्न पेसासँग जोडिएका धेरैजसो सेलिब्रेटी पनि विश्वकप फुटबलमा रमाउँछन् । आफूलाई मनपरेका टिमको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गर्छन् । तथापि फुटबलकर्मीका लागि भने विश्वकप फुटबलको आयोजनाले ठूलै अर्थ राख्दछ । उनीहरूका लागि त विश्वकप फुटबल पर्व नै हो । रातभर कुरेर भए पनि आफ्नो मनपर्ने खेलाडी र टिमको खेल हेर्ने गर्छन् । त्यहाँबाट केही सिक्ने प्रयास उनीहरूको हुन्छ । यस पटक नेपालका फुटबल स्टारहरूले कतार विश्वकपमा कुन-कुन टोलीको समर्थन गर्नेछन् या कसलाई पछ्याउँदै आइरहेका छन् त ? उनीहरूले मनपर्ने टोली या मनपर्ने खेलाडीका हरेक गतिविधि कसरी हेरिरहेका छन् ?

पछिल्लो समय व्यावसायिक फुटबलको प्रभावले पनि युरोपियन फुटबलका स्टारप्रति सद्भाव र समर्थन गर्ने जस्ता अभिव्यक्तिहरू पनि आउने गरेका छन् । आमफुटबल समर्थकभन्दा फुटबलकर्मीले फरक दृष्टिकोणले विश्वकप फुटबललाई पछ्याइरहेका हुन्छन् । यसपालि सर्वाधिक सफल टोली ब्राजिलसहित कुल ३२ राष्ट्रले कतार विश्वकपमा खेल्दै छन् । समूह ‘जी’मा रहेको ब्राजिलले सर्बियासँग खेल्दै कतार विश्वकपको यात्रा थाल्नेछ ।

दक्षिण एसियाकै सफल स्ट्राइकरमध्ये एक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी सर्वाधिक पाँच पटक विश्वकप जितेको ब्राजिलकी समर्थक हुन् । उनी लामो समयदेखि ब्राजिललाई पछ्याउँदै आइरहेकी छन् । सँगै उनको व्यावसायिक फुटबलका सफल स्टार रोनाल्डोको देश पोर्चुगलप्रति पनि उनको सद्भाव छ ।

ब्राजिलको ‘टिम गेम’बाट आकर्षित हुने गरेकी सावित्रालाई ब्राजिली खेलाडीको अद्भूत स्किलले झनै मोहित पार्छ । ‘मलाई मनपर्ने टोली ब्राजिल हो । ब्राजिल सदाबहार दाबेदार पनि हो । यस पटक उसैले जित्छ भन्ने विश्वास छ,’ सावित्राले भनिन्, ‘मेरो आइकोनिक प्लेयर रोनाल्डो हो । त्यसैले पोर्चुगललाई पनि मेरो समर्थन रहन्छ । रोनाल्डोको प्रेरणामा पोर्चुगलले पनि राम्रो गरोस् भन्ने लाग्छ ।’

पुरुष राष्ट्रिय टोलीका पूर्वकप्तान राजुकाजी शाक्यलाई पनि ब्राजिलको टिम खुबै मनपर्छ । राजुकाजीले सन् १९८२ मा स्पेनमा भएको विश्वकपदेखि फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फलो गर्न थालेका हुन् । त्यतिबेला नेपाली राष्ट्रिय टोली अभ्यासका लागि चीन पुगेको थियो । सोही समयमा होटलमा बस्दा उनले विश्वकप हेर्ने अवसर पाएका थिए । त्यसयता उनले ब्राजिललाई समर्थन गर्दै आएका छन् ।

‘मलाई मनपर्ने टिम ब्राजिल हो र उनीहरू सदाबहार दाबेदार हुन् । तर, फुटबलमा जे पनि हुनसक्छ । छनोटमा नै कमजोर राष्ट्रले शक्तिशाली देशलाई हराएका छन् । जर्मनी, फ्रान्स र युवा खेलाडी भरिएको इङ्ल्यान्ड पनि बलियो छ । तथापि मनपर्ने टोली ब्राजिलले जितोस् भन्ने लाग्छ,’ पूर्वफुटबलर एवं प्रशिक्षक शाक्यको आफ्नो अपेक्षा व्यक्त गरे ।

नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्ट पनि यसपालि ब्राजिलको टोलीलाई समर्थन गर्दै छन् । उनलाई मनपर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हो । त्यसैले पोर्चुगलप्रति अञ्जनको सद्भाव रहे पनि ब्राजिलको टोलीले जितोस् भन्ने उनको चाहना छ ।

‘मैले सन् २०१० देखि विश्वकप हेर्न थालेको हुँ । रोनाल्डो एकदम मनपर्ने भएकाले सुरुमा पोर्चुगललाई समर्थन गरेको थिएँ । पछि नेयमारको खेल्ने शैली पनि निकै मनपर्न थाल्यो र अहिले ब्राजिललाई पछ्याउन थालें । ब्राजिल सदाबहार बलियो टोली हो । यसपालि ब्राजिलको टोली निकै बलियो देखिएको छ,’ अञ्जनले भने, ‘यसपल्ट ब्राजिलले जित्छ होला भन्ने लाग्छ । रोनाल्डोको पोर्चुगलले पनि राम्रो गरोस् भन्ने चाहना छ ।’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले पनि सन् २०१४ को विश्वकपयता ब्राजिललाई नै समर्थन गर्दै आइरहेकी छन् ।

‘मैले फुटबल खेल्न थालेदेखि नै फुटबलका प्रतियोगिता पछ्याउँदै आएकी छु । पहिलो पटक सन् २०१४ को विश्वकप हेरेको थिएँ, जहाँ मलाई मनपर्ने टोली ब्राजिलले त्यति राम्रो गर्न सकेन,’ गोलकिपर अञ्जनाले भनिन्, ‘मलाई मनपर्ने खेलाडी रोनाल्डो हो । तर, विश्वकपमा हुँदाचाहिँ ब्राजिलको समर्थन गर्छु । म कतारमा हुने विश्वकपको व्यग्र प्रतीक्षामा पनि छु ।’

राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनलाई सानैदेखि रोबर्टो कार्लोस खुबै मनपर्थ्यो। रोबर्टोलाई नै पछ्याएर उनले आफूलाई पनि लेफ्ट ब्याक पोजिसनमा ढालेका थिए ।

रोबर्टो कार्लोस विश्वकै उत्कृष्ट लेफ्ट ब्याक हुन् । उनकै प्रेरणामा ब्राजिल १९९८ र २००२ को विश्वकपको फाइनलमा पनि पुगेको थियो । दक्षिण कोरिया र जापानले संयुक्त आयोजना गरेको २००२ को विश्वकप ब्राजिलले जितेको थियो ।

‘रोबर्टो कार्लोस सानैदेखि मनपथ्र्यो । उनकै खेल हेरेर मैले पनि लेफ्ट ब्याक खेलेको हुँ । उनकै समर्थक भएकाले पनि ब्राजिललाई पछ्याउन थालें,’ विराजले भने, ‘ब्राजिलका खेलाडीको खेल्ने शैली अद्भूत किसिमको छ । उनीहरूको कलाले निकै मोहित पार्छ । यसपालि पनि ब्राजिल बलियो देखिएको छ । तर फुटबल हो, यसै किसिमको नतिजा आउँछ भन्न सकिँदैन ।’

यसपालि कतार विश्वकपका लागि ब्राजिलको टोली सार्वजनिक भएलगत्तै उनले खेलाडीबारे हेरेका थिए । युरोपियन फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीले भरिएको टोली ब्राजिल हो भन्ने उनको विश्वास छ । आफ्ना दाइ विक्रम महर्जन, काका र बुवासँग बसेर पहिलो पटक सन् १९९४ को विश्वकप हेरेको उनलाई सम्झना छ । त्यो विश्वकप ब्राजिलले नै जितेको थियो । फाइनलमा ब्राजिलले पेनाल्टी शुटआउटमार्फत इटालीलाई ३-२ ले हराएको थियो ।