काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा विजयी सुरूवात गरेकाे छ ।
शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरे ।
देवदत्त पडीकल २६ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । कप्तान रजत पाटीदार ३१ रनमा आउट हुँदा टिम डेबिड १६ रनमा अविजित रहे । हैदराबादका लागि डेविड पायनले २ तथा जयदेव उन्नादकड र हर्ष दवेले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रनको योगफल तयार गरेको थियो ।
हैदराबादका लागि कप्तान इशान किशनले सर्वाधिक रुपमा ८० रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलको सामना गर्दै ८ चौका र ५ छक्का प्रहार गरे । कप्तान इशानले शतकीय पारी खेले पनि हैदराबादको सुरुवात भने राम्रो हुन सकेको थिएन । हैदराबादले पावर प्लेमा नै ३ महत्वपुर्ण विकेट गुमाएको थियो ।
चौथो विकेटका लागि कप्तान इशानसँग मिलेर हेनरिक क्लासेनले ९७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्याए । क्लासेन २२ बलमा ३१ रनमा आउट भए । साहिल अरोरा ९ तथा हर्ष दुवे ३ रनमा आउट हुँदा अनिकित बर्मा ४३ रनमा आउट भए । १७ बलको सामना गरेका अनिकितले ३ चौका र ४ छक्का प्रहार गरे । ओपनर अभिषेक शर्मालाई ७ रनमा गुमाएको हैदराबादका ट्रभिस हेड ११ रनमा आउट भएका थिए ।
बेंगलुरुका लागि ज्याकोब डफी र रोमारियो शेफर्डले समान ३ विकेट आफ्नो नाममा गरे । भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सुयस शर्माले समान १ विकेट लिए । पहिलो खेलमा जित हात पारेको डिफेन्डिङ च्याम्पियन बेंगलुरु २ अंकका साथ शीर्ष स्थानमा छ । पराजित हैदराबादको १ खेलबाट कुनै पनि अंक रहेको छैन ।
