भारतमाथी रवाफिलो जितसहित इङल्यान्ड फाइनलमा

सिड्नी । ओपनर एलेक्स हेल्स र जस बट्लरको शतकीय साझेदारीप्रेरित इङल्यान्ड बिहीबार भारतमाथि १० विकेटको सानदार जितसहित आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

इङल्यान्डले आइतबार मेलबर्न क्रिकेट मैदानमा हुने फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान बुधबार न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

एडिलेड ओभलमा भारतले प्रस्तुत गरेको एक सय ६९ रनको लक्ष्य इङल्यान्डले १६ ओभरमा विना विकेट क्षती पूरा गर्यो ।

हेल्स र बट्लरले पहिलो विकेटका लागि  अविजित एक सय ७० रनकाे साझेदारी गरेका थिए ।

हेल्सले ४७ बलमा चार चौका र सात छक्कामद्दतमा अविजित ८६ र बट्लरले ४९ बलमा नौ चौका र तीन छक्कामद्दतमा अविजित ८० रन जोडे ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले विराट कोहली र हार्दिक पाण्डेयाको अर्धशतकमा २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६८ रनको योगफल खडा गरेको थियो  ।

भारतका लागि पाण्डेयाले ६३ र कोहलीले ५० रन बनाए । पाण्डेयाले ३३ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । कोहलीले ४० बलमा चार चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित शर्माले २७ रन जोडे ।

इङल्यान्डका क्रिस जोर्डनले तीन  तथा एडिल रासिद र क्रिस ओक्सले समान एक विकेट लिए ।