नेपाल र पिएनजी भोलि खेल्दै

काठमाडौं,  (खेलाडी )- आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन- २ अन्तर्गत त्रिकोणीय शृ‌खलाको तयारीका लागि ओमान पुगेको नेपाली टोलीले भोलि पपुवा न्युगिनीसँग अभ्यास खेल खेल्दै छ ।

शृंखलामा अमेरिका र ओमानको सामना गर्ने नेपालले पिएनजीसँग तय भएका दुईमध्ये पहिलो एकदिवसीय मंगलबार खेल्न लागेको हो ।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् ।

नेपालको प्रतिकुल मौसमका कारण उतै तयारी गर्न यसअघि नै ओमान पुगेकी नेपालले पिएनजीसँग मंगलबार र शुक्रबार दुई एकदिवसीय खेल्ने तय भएको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १९ सदस्यीय नेपाली टोलीमा यसपटक अनुभवी खेलाडी तथा पूर्व कप्तान पारस खड्का हुने छैनन् । पारसले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।

अनुभवी खेलाडी पारस बिनाको नेपाली टोलीमा एक युवा खेलाडी गुल्शन झा पनि समावेश छन् । नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका गुल्शन मुख्य प्रशिक्षक डेभ वाटमोरको नजरमा परेका थिए ।

नेपालले पिएनजीविरुद्धका दुई अभ्यास खेलपछि ओमान र अमेरिकासँग त्रिकोणात्मक शृंखला खेल्ने छ । शृंखला सेप्टेम्बर १३ बाट २० सम्म चल्ने छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिइसकेका डेभ वाटमोरको नेतृत्वमा नेपालको यो अन्तिम शृंखला हुनेछ । वाटमोरले ओमान पुगे लगत्तै पारिवारिक तथा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए ।

नेपाली टोली: 

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तन), कुशल भुर्तेल, आसिफ शेख, गुल्शन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल