कोलिन डी ग्रान्डहोम

अन्तर्राष्ट्रिय क्रिकेटबाट ग्रान्डहोमको संन्यास

क्राइस्टचर्च । न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्रान्डहोमले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

ग्रान्डहोमले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

‘मसँग बढ्दै गरेको परिवार पनि छ । म क्रिकेटपछिको हाम्रो भविष्य कस्तो हुनेछ भन्ने पनि बुझ्ने प्रयास गर्दैछु । यी सबै कुराहरु पछिल्लो केही सातायता मेरो मस्तिस्कमा खेलिरहेका थियो,’ ग्रान्डहोमले भने, ‘सन् २०१२ मा डेब्यु गरेपछि न्युजिल्यान्डको टिमबाट खेल्न पाएकोमा म सन्तुष्ट र आफ्नो अन्तर्राष्ट्रिय करियरप्रति गौरवान्वित छु । तर, अहिले मैले यो संन्यासको लागि उपयुक्त समय हो भन्ने महसुस गरेको छु ।’

किवी टिमका ३६ वर्षीय अलराउन्डर ग्रान्डहोमले २९ टेस्ट, ४५ एकदिवसीय र ४१ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

यसमा उनले टेस्टमा एक हजार चार सय ३२ रन, एकदिवसीयमा सात सय ४२ र ट्वान्टी २० मा पाँच सय पाँच रन बनाएका छन् । यस्तै, उनले टेस्टमा ४९, एकदिवसीयमा ३० र ट्वान्टी २० मा १२ विकेट लिएका छन् ।

ग्रान्डहोमले सन् २०१२ मा जिम्बाब्वेविरुद्धको खेलसँगै न्युजिल्यान्डको राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका थिए ।