चितवन टाइगर्सको मुख्य प्रायोजक प्रभु पे

काठमाडौं, (खेलाडी)- नेपाली क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली चितवन टाइगर्सलाई प्रभु पेले प्रायोजन गर्ने भएको छ ।

मुख्य प्रायोजकका रुपमा प्रभु पे र चितवन टाइगर्सबीच बुधबार सम्झौता भएको जनाइएको छ । 

चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

इपिएलका लागि चितवन टाइगर्सको टोलीमा अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नत पनि पाँचौं विदेशीका रुपमा अनुबन्धित भएका छन् । 

‘२३ वर्षीय जन्नत ट्वान्टी २० स्वरुपको क्रिकेटमा अत्यन्तै क्षमतावान मध्यपंक्तिका ब्याट्सम्यान हुन्,’ चितवन टाइगर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सोमपाल कामीको कप्तानीमा रहेको टोलीमा कमलसिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललितसिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडकबहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल र गौतम केसी छन् । 

यसैगरी असोज ९ देखि २३ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि चितवनले विदेशी खेलाडीका रुपमा श्रीलंकाका शेकुगे प्रसन्न, अफगानिस्तानका मोहम्मद शहजाद र करिम जन्नत, पाकिस्तानका डानिस अजिज र मलेसियाका विरनदीप सिंहलाई अनुबन्ध गरेको छ ।