आइसिसी विश्वकप क्रिकेट लिग २

सुखद सुरुआतको लक्ष्यमा नेपाल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको पहिलो खेलमा आज नामिबियाको सामना गर्दा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिबियाविरुद्धको त्रिकोणत्मक शृंखला खेल्न लागेको हो । स्कटल्यान्ड भ्रमण अघि नेपालले क्यानडामा केही अभ्यास खेल खेलेको थियो ।

क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध एक ट्वान्टी२० र  एक दिवसीय गरि दुवै खेल जितेको नेपालले क्यानडालाई भने एक दिवसीय शृंखला १-० ले सुम्पिएको थियो । 

क्यानडाविरुद्धको पहिलो एक दिवसीय खेल वर्षाका कारण रोकिएको थियो भने दोस्रो खेलमा नेपालले नतिजा सुम्पिएको थियो ।

नेपालले गत महिना मात्र आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाका लागि अमेरिकाको भ्रमण गरेको थियो ।

ओमानविरुद्ध दुई खेल मध्ये नेपालले एक खेल जितेको थियो भने एक खेल गुमाएको थियो ।त्यस्तै अमेरिकाविरुद्धको दुई मध्ये एक खेल टाइ भएको थियो भने अर्को खेलमा नेपाल पराजित भएको थियो ।

नामिबियासँग नेपालले पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो ।

तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै २० खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ८ खेलमा पराजय बेहोरेको थियो ।

तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डले २० खेलबाट २८, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, छैटौं स्थानको नामिबियाले १४ खेलबाट १४ र पुछारमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले २० खेलबाट २ अंक जोडेका छन् ।