नेपाल प्रो– क्लब ट्वान्टी २० च्याम्पियनसिप

ट्यालेन्ट हन्टमाथि एपिएफको जित

काठमाडौं । अस्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मृतिमा आयोजित नेपाल प्रो क्लब ट्वान्टी २० च्याम्पियनसिपमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सात विकेटले पराजित गरेको छ ।

सोमबार भैरहवाको सिदार्थनगरमा सम्पन्न खेलमा ट्यालेन्ट हन्टले दिएको एक सय २६ रनको लक्ष्य एपिएफले १९ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

एपिएफको जितमा प्रदीप ऐरीले सर्वाधिक ५४ रन बनाए । उनले ५८ बलमा ६ चौका प्रहार गरे । यस्तै, दीपक बोहराले ४२ रन बनाउदा सन्दीप जोराले १० रन जोडे ।

ट्यालेन्ट हन्टका मोहम्मद मुसर्रफले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको ट्यालेन्ट हन्टले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रनको योगफल खडा गरेको थियो ।

ट्यालेन्ट हन्टका असादुर्जमान बरेनाओले सर्वाधिक ३० रन बनाए । यस्तै, सरिएरे रोमनले २२, राज बमले २१, आशिष रत्नमले १९ र अबिदुर कैफले १६ रन बनाए ।

एपिएफका प्रदीप ऐरीले र भुवन कार्कीले समान दुई विकेट लिँदा किशोर महतोले एक विकेट लिए ।