ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

युएईले दियो नेपाललाई १७६ रनको लक्ष्य

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइनलमा सयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामू एक सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रनको योगफल खडा गर्यो ।

युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरे । यस्तै, भ्रित्या अरविन्दले ४६, मुहम्मद वसिमले १७ र जवर फरिदले ११ रन जोडे ।

नेपालका अविनास बोहरा र जितेन्द्र मुखियाले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका अविनासले ४६ रन खर्चिदा मुखियाले तीन ओभरमा ३५ रन खर्चिए । यसबाहेक, कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।

आजको खेलमा जित निकाले दोस्रो नेपाल दोस्रो पटक आइसिसी ट्वान्टी २० विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकपमा छनोट भएको थियो ।

नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा युएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो ।

नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।

यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको युएई एक खेलमा भने पराजित भएको थियो ।