ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

एपिएफको विजयी सुरुआत

काठमाडौं । प्रदेश एक महिलालाई ६ विकेटले हराउँदै मंगलबार सशस्त्र प्रहरी बलको एपिएफ महिलाले ललितपुर मेयर वुमन्स क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश एकले दिएको ५८ रनको लक्ष्य एपिएफले ११.४ ओभरमा चार विकेट गुमाएर भेट्टयाे।

एपिएफको लागि ज्योती पाण्डेले सर्वाधिक २३ रन बनाइन् । उनले २७ बलमा चार चौका प्रहार गरिन् । यस्तै, रोमा थापाले १५ रन जोडिन् ।

प्रदेश एककी सवनमले दुई विकेट लिदाँ हरमाइ श्रेत्री र रुबिना श्रेत्रीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश एकले निर्धारित २० ओभरमा नौं विकेट गुमाएर ५७ रनको योगफल तयार गरेको थियो ।

प्रदेश एकको लागि सवनम राईले सर्वाधिक १६ रन बनाइन् । उनले १४ बलमा दुई चौका प्रहार गरिन ।

एपिएफकी करुणा भण्डारीले तीन विकेट लिदाँ राजमती ऐरीले दुई तथा रेखा रावल र सुमन विष्टले समान एक विकेट लिए ।

आयोजक टोली ललितपुर, एपिएफ, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र प्रदेश एक गरी पाँच टोली सहभागी छन् । प्रतियोगिताको फाइनल फागुन १६ गते हुनेछ ।