ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

शतप्रतिशत जितसहित समूह विजेता बन्ने लक्ष्यमा नेपाल

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकप क्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार क्यानडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल शतप्रतिशत जितसहित समूह विजेता बन्ने लक्ष्यमा हुनेछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ३ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुईमध्ये दुबै खेलमा जित निकालेको थियो ।

छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई एक सय ३८ रनले पराजित गरेको थियो ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट दुई अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहिन फिलिपिन्स समूहको पुछारमा छ ।

आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइलन जित निकाले नेपाल छनोटको फाइनलसँगै अक्टोबरदेखि अस्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकपमा छनोटमा हुनेछ ।

ग्लोबल छनोटका समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको सयुक्त अरब इमिरेट्स (युएई) शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट समान दुई अंक जोडे पनि बहराइन दोस्रो र आयरल्यान्ड तेस्रो स्थानमा छ । दुई खेल खेल्दासम्म खाता खोल्न नसकेको जर्मनी अन्तिममा छ ।