अस्ट्रेलिया-श्रीलंका क्रिकेट शृंखला

श्रीलंकाको सान्त्वना जित

मेलबर्न । अस्ट्रेलियाविरुद्धको पाँचौ तथा अन्तिम ट्वान्टी २० क्रिकेट पाहुना टोली श्रीलंकाले जितेको छ । यद्यपि, ट्वान्टी २० खेलको शृंखला भने घरेलु टोली अस्ट्रेलियाले ४–१ ले जितेको छ ।

मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको एक सय ५५ रनको लक्ष्य श्रीलंकाले एक बल बाँकी छँदा पाँच विकेट गुमाएर भेट्टायो ।

श्रीलंकाका कुशल मेन्डिसले अर्धशतकीय इनिङ खेले । टोलीको जितमा अविजित ६९ रन बनाएका मेन्डिसले ५८ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यस्तै, कप्तान दसुन सानाकाले ३५, चरिथ असलंकाले २० र पथुम निसांकाले १३ रन बनाए ।

अस्ट्रेलियाका केन रिचर्डसनले दुई र एस्टोन अगरले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका म्याथ्यु वाइडले सर्वाधिक ४३ रन बनाए । वाइडले २७ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । यसबाहेक, ग्लेन म्याक्सवेलले २९, जस इङ्लिसले २३ र ड्यानिय साम्सले १८ रन बनाए ।

श्रीलंकाका लहिरु कुमारा र दुस्मन्था चमिराले समान दुई विकेट लिए । यस्तै, प्रविन जयाविक्रमा र चमिका करुणारत्नेले एक एक विकेट लिए ।