ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

क्यानडाले ओमानलाई दियो १५६ रनको लक्ष्य

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटमा शनिबार क्यानडाले घरेलु टोली ओमानसामू एक सय ५६ रनको योगफल खडा गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानको टर्फ १ मा टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५५ रनको योगफल खडा गर्यो ।

क्यानडाका रविन्दरपल सिंहले सर्वाधिक ४६ रन बनाए । उनले ३६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, हम्जा तरिक र डिलोन हेलिगरले समान २१ रन जोड्दा साद बिन जफर २० बनाए ।

ओमानका फयाज बटले दुई विकेट लिए । यसबाहेक, जिसन मक्सुद, कलिमुल्लाह र बिलाल खानले समान एक विकेट लिए ।

छनोटको पहिलो खेलमा क्यानडाले फिलिपिन्समाथि एक सय १८ रनको जित निकाल्दा ओमान भने नेपालसँग ३९ रनले पराजित भएको थियो ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको ओमान र क्यानडासँगै नेपाल र फिलिपिन्स छन् ।