अफगानिस्तान-नेदरल्यान्ड्स शृंखला

अफगानिस्तानलाई शृंखला

दोहा । दोस्रो खेलमा ४८ रनको जित निकालेसँगै अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्धको तीन खेलकाे एकदिवसीय शृंखला एक खेलअगावै जितेको छ । अफगानिस्ताने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३६ रनले पराजित गरेको थियो ।

आइतबार दोहामा सम्पन्न खेलमा अफगानिस्तानले दिएको दुई सय ३८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.४ ओभरमा एक सय ८९ रनमै समेटियो ।

नेदरल्यान्ड्समा ओपनर स्कट एड्वार्ड्सले सर्वाधिक ८६ रन बनाए । उनले एक सय २० बलमा नौ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले ३४ रन जोड्दा कप्तान पिटर सिलर र साकिब जुल्फिकरले समान १२ रन बनाए ।

अफगानिस्तानका मुजिब उर रहमानले चार विकेट लिए । ९.४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए । त्यस्तै फरिद अहमेदले दुई विकेट लिँदा यामिन अहमदजाई र राशिद खानले एक एक विकेट लिए ।

यसअघि कतारस्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ३७ रनको योगफल तयार गरेकाे थियाे ।

अफगानिस्तानका ओपनर रहमनुल्लाह गुर्बजले सर्वाधिक एक सय तीन रन बनाए । उनले एक सय २७ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । यद्यपि, उनीसँगै ओपनिङ ब्याटिङका लागि मैदान उत्रिएका उस्मान घानी भने ‘गोल्डेन डक आउट’ भएका थिए।

कप्तान हसमतुल्लाह साहिदीले टोलीको खातामा ५४ रन थप्दा रहमत शाहले ३५, नजिबुल्लाह जद्रानले २० र राशिद खानले १४ रन जोडेका थिए ।

नेदरल्यान्ड्सका फिलिप बोइसेभेन र फ्रेड क्लासेनले समान दुई विकेट लिएका थिए । त्यस्तै, कोलिन एकरम्यान र र्यान क्लेइनले एक एक विकेट लिएका थिए ।