एसिसी यु १९ एसिया कप

भारत सेमिफाइनलमा

युएई । अफगानिस्तानलाई चार विकेटले पराजित गर्दै भारत यु १९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत ग्रुप ‘ए’ मा रहेको भारतले समूहको उपविजेताकाे रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । भारतले लिगका तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको थियो । यस समूहबाट पाकिस्तानले विजेता रुपमा सेमिफाइनलको टिकट काटिसकेको छ ।

आइसिसी एकेडेमी ग्राउन्ड २ मा दुई सय ६० रनको लक्ष्य भारतले ४८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा हरनुर सिंहले अर्धसतकिय इनिङ खेले । हरनुरले ७४ बलमा आठ चौकासहित ६५ रन बनाए । त्यस्तै राज बावाले ४३, कुशल तम्बे र अंगक्रिस रघुवंसीले समान ३५ रन र कप्तान यस दुलले २६ रन जोडे ।

अफगानिस्तानका नुर अहमेदले चार विकेट लिए । यस्तै बिलाल सामी र खलेल अहमेदले एक एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर दुई सय ५९ रनको योगफल खडा गरेको थियो ।

अफगानिस्तानका लिजाज अहमेदले ८६, कप्तान सुलिमन सफिले ७३ रनको अर्धसतकिय इनिङ खेले । त्यस्तै अल्लाह नुरले २६, खैबेर वालीले २० रन जोडेका थिए ।

भारतका राजवर्धन हंगरगेकर, राज बावा, बिकी ओस्तवल र कुशल तम्बेले समान एक विकेट लिएका थिए ।