त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेदरल्यान्ड्स च्याम्पियन, फाइनलमा नेपाल पराजित

काठमाडौं । घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै नेदरल्यान्ड्स त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइलनमा नेपालले प्रस्तुत गरेको १८५ रनको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।  

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले २९ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले ४८, विक्रमजित सिंहले २९, म्याक्स ओडोउडले २२ र टिम भान डेर गुग्टेन अविजित २१ रन बनाए ।

पहिलो विकेटका लागि लेभिट र ओडोउडले ८३ रनको साझेदारी गरे । नेपालका लागि कुशल मल्लले चार तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पार्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले ३७ बलमा तीन छक्का र एक चौकको मद्दतले सर्वाधिक ४७ रनको योगदान दिए । यसैगरी गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहितकुमार पौडेलले २५ र कुशल भुर्तेलले २० रन बनाए ।

दोस्रो विकेटका लागि आसिफ र रोहितले ५९ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि टिम भान डेर गुग्टेन, माइकल लेभिट, साइब्रान्ड एङ्गेलब्रेख्त र फ्रेड क्लासेनले समान दुई विकेट लिए ।

नेपाल लिग चरणमा चार अंकका दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । पाँच अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणका सुरुआती दुई खेलमा नेपालले नामिबियासँग २० र नेदरल्यान्ड्सँग दुई रनको पराजय ब्यहोरेको थियो । पछिल्ला दुई खेलमा नेपालले नामिबियामा तीन रन तथा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो ।

नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा ५९ रनले हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो ।