आइसिसी विश्वकप लिग-२

नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया, नेदरल्यान्ड्स सम्मिलित शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ । 

पराजयसँगै नेपालले शृंखलाका चार खेलमा मात्र दुई अंक जोड्यो । यसअघि नामिबयासँग चार र दुई विकेटले पराजित नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

यता दोस्रो जित निकालेको नेदरल्यान्ड्सले समान खेलबाट चार अंक जोड्यो । नेदरल्यान्ड्सले नामियबासँगको पहिलो खेलमा सात विकेटको जित निकाल्दा दोस्रो खेलमा २४ रनको पराजय ब्यहोरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । 

नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले ९२ बलमा सात चौकाको मद्दतले अविजित ५८ रनको योगदान गरे । यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले अविजित ४६, माइकल लेभिटले ३९, म्याक्स ओ’ डोउडले २८ रन बनाए । 

तेस्रो विकेटका लागि सिंह र एङ्गेलब्रेख्तले अविजित १०२ तथा पहिलो विकेटका लागि लेभिट र ओ’डोउडले ६१ रनको साझेदारी गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललितनाराण राजवंशीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो । 

 नेपालका लागि ओपनर कुशल भुर्तेलले ९३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा कुशलको यो आठौं अर्धशतक हो ।

यसैगरी करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए ।

पहिलो विकेटका लागि कुशल र आसिफले ४२ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि आर्यन दत्त र भिभियन किंगमाले समान तीन, बास डी लिडेले दुई र रोलोफ भान डेर मार्वेले एक विकेट लिए ।