नेपाली फुटबल

एन्फा साधारणसभाः विषय सुचिमा कार्यसमितिका बहुमत सदस्यको असहमति

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिका बहुमत सदस्यले सोमबार हुने तय भएको वार्षिक साधारणसभाका लागि सचिवालयले समावेश गरेको विषय सुचिमा असहमति जनाएका छन् ।

साधारणसभामा प्रस्तुत गर्ने विषय सुचि तय गर्न यही फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकमा भएका छलफल र निर्णयभन्दा बाहिर गएर अरु विषय सुचिहरु थपिएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार)सहित कार्यसमितिका १० सदस्यले विरोध जनाएका छन् ।

यसरी विरोध जनाउनेमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय शाही र केसी तथा सदस्यहरु रमेश ब्यन्जनकार, अनिल मल्ल ठकुरी, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारी र पेमा डोल्मा लामा छन् ।

२१ सदस्यीय एन्फा कार्यसमितिका उपाध्यक्ष दावा कुंगा लामा लागु औषध कारोबारमा दोषी ठहर भएर अदालतले उनलाई जेल सजाय तोकेको १० वर्ष पुरानो निर्णय सार्वजनिक भएपछि सम्पर्कविहिन छन् ।

लामा सम्पर्कविहिन भएपछि कार्यसमितिमा अब २० जनामात्र बाँकी छन् । त्यसमा कुनै पनि विषयमा मत बराबर भएमा मात्र अध्यक्षले निर्णायक मत हाल्ने प्रावधान छ । पहिलो चरणमै १० सदस्यले विरोध जनाएपछि बहुमत नेतृत्वको विपक्षमा देखिन्छ ।

बहुमत १० सदस्यले आइतबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई इमेल लेख्दै आफूहरुको असहमति पत्र इमेलमार्फत नियमानुसार दर्ता गर्न अनुरोध गरेका छन् ।

पत्रमा बहुमत सदस्यले ‘फागुन ३ देखि ६ गतेसम्म चलेको बैठकमा भएका छलफल र निर्णयभन्दा बाहिर गएर अरु विषय सुचिहरु कार्यसमितिबाट पास भएको भनि पत्राचार गरिएकोले महासचिवले हाम्रो उपस्थितिको दुरुपयोग गर्नुभएको हाम्रो ठहर छ’ भन्दै सचिवालयले किर्ते गरेको आरोप लगाएका छन् ।

यसैगरी गत आर्थिक वर्ष २०७९/८०को लेखा परिक्षण प्रतिवेदनको विषयमा कार्यसमितिमा छलफल भए पनि कैफियतहरुको निराकरण नभई पास नगर्ने भनिएकोमा यथास्थितीमा पेश गरिएको जनाउँदै त्यसप्रति आफूहरुको गम्भीर आपत्ति रहेको पनि पत्रमा उल्लेख छ ।

लेखा परिक्षणलाई यथास्थितीमा साधारणसभामा पेश गर्ने भए लेखा परिक्षकले प्रस्तुत गरेको म्यानेजमेन्ट लेटर साधारणसभामा सबै सदस्यलाई लेखा परिक्षण प्रतिवेदनसँगै वितरण गर्नुपर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्ष नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीले लिनुपर्ने माग बहुमत सदस्यले गरेका छन् ।

त्यस्तै एन्फाको आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्ताब कार्यसमितिको बैठकबाट निर्णय नभए पनि साधारणसभाको विषय सुचिमा जस्ताको तस्तै पेश गर्न लागिएको भन्दै बहुमत सदस्यले विरोध जनाएका छन् ।

वरिष्ठ उपाध्यक्षसहितका १० सदस्यले फागुन ३ देखि ६ गतेसम्म बसेको बैठकमा आफूहरुको उपस्थितीको दुरुपयोग गरिएको भन्दै साधारणसभाअगाडि नै बैठक आह्वान गरि निर्णय पुस्तिका कार्यसमितिलाई उपलब्ध गराउन माग गरेका छन् ।