काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले पाँचौं विदेशी खेलाडीका रूपमा क्यानाडाका अलराउन्डर साद बिन जफरलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले सामाजिक सञ्जालमार्फत ३८ वर्षीय जफरलाई अनुबन्ध गरेको जानकारी दियो । जफरले क्यानाडाका लागि ४९ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा ३९० रन प्रहार गरेका छन् । उनको नाममा ५५ विकेट पनि छ ।
यसअघि टोलीले इङ्ल्यान्डका विकेटकिपर ब्याटर थोमस मुर्स, अस्ट्रेलियन अलराउन्डर बेन कटिङ, भारतीय मुलका अमेरिकन विकेटकिपर ब्याटर उन्मुक्त चन्द र वेस्ट इन्डिजका बलर रोमोन सिमन्ड्सलाई भित्र्याएको थियो ।
लुम्बिनीको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल छन् । यसैगरी टोलीले नन्दन फडनिसलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा लुम्बिनीसँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।