प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

विनोदको शतकप्रेरित आर्मीको विजयी सुरुआत

विनोद भण्डारी

काठमाडौं। मधेश प्रदेशलाई १ सय २६ रनले स्तब्ध बनाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । 

जितसँगै आर्मीले दुई अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको मधेशको पनि दुई खेलबाट दुई अंक नै छ । 

कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदान सोमाबार आर्मीले प्रस्तुत गरेको ३ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ४८.४ ओभरमा १ सय ९४ रनमा समेटियो । 

मधेशका लागि पवन सराफले ८३ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी मायन यादवले ३४, राजेश यादवले अविजित ३२, रुपेश सिंहले १८, विशाल पटेलले १८ र अनिल शाहले १२ रन जोडे । 

 पवन सराफ

छैटौं विकेटका लागि पवन र रुपेशले ४८ रनको साझेदारी गरे । आर्मीका लागि शहाब आलमले १० ओभरमा एक मेडनसहित ३७ रन खर्चिदै चार विकेट लिए । यसैगरी सोमपाल कामीले दुई तथा जितेन्द्र मुखिया र कुशल मल्लले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय २० रनको योगफल तयार पारेको थियो । 

आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा नौ चौका र दुई छक्काको मद्दतले १ सय १३ रनको योगदान गरे । यसैगरी सन्तोष कार्कीले ४२, यसैगरी कुशल मल्ल र विवेक यादवले समान ३७, इम्रान शेखले २६ र बसिर अहमदले १६ रन बनाए ।  

 विनोद भण्डारी

पाँचौं विकेटका लागि विनोद र कुशलले १ सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इम्रानले ५३ रनको साझेदारी गरे । मधेशका लागि रन्जित कुमारले नाै ओभरमा ४१ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक विकेट लिए ।