प्रधानमन्त्री कप बागमती छनोट

प्रधानमन्त्री कप बागमती छनोटः ललितपुर च्याम्पियन

काठमडौं । चितवन जिल्लालाई पाँच विकेटले स्तब्ध बनाउँदै ललितपुर जिल्ला प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बागमती छनोटको च्याम्पियन बनेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा मंगलबार सम्पन्न फाइनलमा चितवनले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य ललितपुरले ३५.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । 

ललितपुरका लागि कप्तान आंशुतोष घिरैयाले १ सय २ बलमा १२ चौकाको मद्दतले अविजित ८३ रनको योगदान गरे । यसैगरी आदिल खानले १८, निर्बिक पाठकले अविजित १७ र रोनिम तिवारीले १३ रन बनाए । 

चितवनका लागि दानिश इक्बालले दुई तथा कप्तान गौतम केसी र क्रिजन गुरुङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले  ४५.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रनको योगफल तयार पारेको थियो । चितवनका लागि रोशन झाले ४९,बिकालकुमार गुप्ताले २२, दानिश इक्बालले २१ र गौतम केसीले १० रन बनाए ।

पहिलो विकेटका लागि रोशन र बिकालले ६८ रनको साझेदारी गरे ।  ललितपुरका लागि भार्गव खनालले ७ ओभरमा एक मेडनसहित २१ रन खर्चिएर तीन विकेट लिए । यसैगरी विपिन आचार्यले तीन तथा पंकज पाण्डे, आयुश जैसवाल र आदिल खानले समान एक विकेट लिए ।

ललितपुरले नुवाकोटलाई आठ विकेट तथा चितवनले काठमाडौंलाई दुई विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।