प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट

काठमाडौं जिल्ला छनोटः ग्रेट हिमालयन र सिइसीको विजयी सुरुआत

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता छनोटको लागि काठमाडौं जिल्ला छनोटको पहिलो दिन मंगलबार ग्रेट हिमालयन क्रिकेट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले विजयी सुरुआत गरेका छन् ।

मुलपानी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा ग्रेट हिमालयनले पुष्पलाल स्पोर्टस क्लबमाथि १० विकेटको फराकिलो जित निकाल्यो ।

पुष्पलालले प्रस्तुत गरेको ७५ रनको लक्ष्य ग्रेट हिमालयनले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । ग्रेट हिमालयनका लागि इशान पाण्डेले ४६ र जुयाङ लामाले २३ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुष्पलालले १४ ओभरमा सबै विकेट गुमाउँदै ७३ रनको योगफल तयार पारेको थियो । पुष्पलालका लागि विकाश आचार्यले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ग्रेट हिमालयनका लागि दर्शिल विष्टले ३, अजाज खान र दीपक महतोले समान २ तथा किरण बुढामगर, सुविन हाडा र देवेन्द्र पासवानले समान १ विकेट लिए ।

दोस्रो खेलमा सिइसीले ओएसिस क्रिकेट एकेडेमीलाई ७६ रनले पराजित गर्यो।

सिआइसीले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य पछ्याएको ओएसिस १६.५ ओभरमा ५७ रनमै समेटियो ।  ओएसिसका लागि सुवोद ढुङ्गेलले २३ रन बनाउनु बाहेक अनय ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सिइसीका लागि ४.५ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए । यसैगरी सोनु देवकोटाले ३ तथा मनोज यादव र कुशल रुपाखेतीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिइसीले निर्धारित २५ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनको योगफल तयार पारेको थियो सिइसीका लागि विरेन्द्र साउदले ५३ बलमा ४ चौकाको मद्दतले अविजित ५३ रनको योगदान गरे ।

यसैगरी सोनु देवकोटाले ३३ र विवेक तामाङले १४ रन बनाए । ओएसिसका लागि सारस खत्री, रोमित कँडेल, सुवोध ढुङ्गेल, समर्पण अधिकारी र सौरय सिंहले समान १ विकेट लिए ।  

प्रतियोगिताको उद्घाटन आयोजक काठमाडौ जिल्ला क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य दिवाकर घलेले गरेका थिए। प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा ग्रेट हिमालयन क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब पुष्पलाल स्पोर्टस क्लब तथा समूह ‘बी’ मा क्रिकेट एक्सिलेन्स सेन्टर, आएसिस एकेडेमी र जेम्स थन्डर्स क्रिकेट एकेडेमी छन् ।

यसैगरी समूह ‘सी’ मा नेक्सस क्रिकेट एकेडेमी, न्यु भिजन क्लब र डिएभी क्रिकेट एकेडेमी तथा समूह ‘डी’ मा महावीर क्लब, हिमालयन क्रिकेट एकेडेमी र फरेवर ब्वाइज क्लब छन् ।

प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।  प्रतियोगितामा समूह चरणका खेल २५ ओभर तथा सेमिफाइनल र फाइनल ५० ओभरको हुनेछ ।

प्रत्यक खेलको ‘प्लेयर अफ द म्याच’ ले आइटेलको मोबाइलका साथै ट्रफी प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई श्रेष्ठ टेलरिङकोतर्फबाट सुट तथा आइटेलको मोबाइल प्रदान गरिनेछ ।